images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देहीका स्थानीय तहका प्राथमिकता : स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकास

रुपन्देहीका स्थानीय तहका प्राथमिकता : स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकास

images
images
images
शुक्रवार, आषाढ ११ २०७८
शुक्रवार, आषाढ ११ २०७८
  • रुपन्देहीका स्थानीय तहका प्राथमिकता :  स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकास

    निरा गौतम
    रुपन्देही, ११ असार ।
    रुपन्देहीका १५ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिका रहेको जिल्लामा ओमसतिया गाउँपालिकाबाहेकका पालिकाले बजेट पेश गरेका हुन् । ओमसतियामा अधिकांश गाउँसभा सदस्यले बहिष्कार गरेपछि बिहीबार बजेट पेश हुन सकेन । कोटहीमाई, मर्चवारी र रोहिणी गाउँपालिकाको बजेट भने विवादरहित हुन सकेन । विवादबीच यी पालिकाले बिहीबार बजेट सार्वजनिक गरेका छन् । 

    images
    images
    images

    मर्चवारीमा सबै वडा अध्यक्षले गाउँसभामा उपस्थिति जनाएका थिएनन् भने कोटहीमाईले भैरहवामा गाउँसभाको आयोजना गरी बजेट प्रस्तुत गरेको छ । केही जनप्रतिनिधिले गाउँपालिका भवनमा तालाबन्दी गरेपछि बहुमतकै आधारमा कोटहीमाईले गाउँसभा गरेको हो ।

    जिल्लामै सधै ढिलो बजेट सार्वजनिक गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि यसपटक समयमै बजेट प्रस्तुत गरेको छ । बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर लगायत जिल्लाका अधिकांश पालिकाले भने सहमतिमै बजेट ल्याएका छन् । बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर आगामी आवका लागि रु दुई अर्ब ५३ करोड दुई लाख ४५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

    सामाजिक विकास, पूर्वाधार, आर्थिक विकास, विपत् व्यवस्थापन तथा वातावरण, सुशासन एवम् अन्तर सम्बन्ध, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायत विषयलाई बजेटले प्राथमिकता दिएको उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिइन् । 

    जीवनका लागि स्वास्थ्य भन्ने मान्यतामा आधारित रहेर ल्याइएको बजेटमा स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्य संस्थामा औषधि, औजार उपकरणको पर्याप्तता र स्वास्थ्यकर्मीको क्षमता एवम् मनोबल बढाउने लगायतका कार्य समेटिएको छ । बजेटले महामारी र विपत्बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज तथा सुरक्षित बनाउने, उपलब्ध साधन स्रोत, क्षमता र अवसरको उच्चतम परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिने तथा सामाजिक, आर्थिक र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर माथि उठाउने लगायतका उद्देश्य राखेको छ ।

    सैनामैना नगरपालिकाले कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर रु एक अर्ब २२ करोड १९ लाख ४३ हजार बराबरको बजेट ल्याएको छ । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ रु ५१ करोड ४८ लाख ५५ हजार र पूँजीगततर्फ रु ७० करोड ७१ लाख २८ हजार विनियोजन गरिएको उपप्रमुख विना रानाले जानकारी दिइन् ।

    तिलोत्तमा नगरपालिकाले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यसअघि नै बजेट सार्वजनिक गरेको थियो । तिलोत्तमाले रु एक अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेको हो । सिद्धार्थनगर नगरपालिकाले पनि कोभिड–१९ लगायत विपदको रोकथाम, उपचार र नियन्त्रण, क्रमागत योजना, शहरी पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास, कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्रमा जोड दिएर बजेट रु एक अर्ब १८ करोड ७९ लाखको बजेट ल्याएको छ । देवदह नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि रु ९४ करोडको बजेट ल्याएको छ । 

    जिल्ला अन्य नगरपालिकाको तुलनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको बजेट कम छ । लुम्बिनीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन प्रवद्र्धनलाई जोड दिएर बजेट घोषणा गरेको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार, नगर विकासको आधार’ भन्ने नारा तय गरी नगरपालिकाले रु ८० करोड ३९ लाख ६३ हजार बराबरको बजेट ल्याएको प्रमुख मनमोहन चौधरीले बताए ।

    यस्तै गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट गैडहवा गाउँपालिकाले ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटनसहितको पूर्वाधार गैडहवा विकासको आधार भन्ने मूल नारासहित रु ६६ करोड ८१ लाख ४४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

    गाउँपालिकामध्ये सबैभन्दा पहिला सम्मरीमाईले बजेट ल्याएको थियो । सम्मरीमाईले ‘कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र रोजगार, समुन्नत सम्मरीमाईको विकासको आधार’ भन्ने नाराका साथ रु ५३ करोड ४१ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । शुद्धोधन गाउँपालिकाले कृषि, शिक्षा, भौतिक पूर्वाधार र रोजगारीलाई उच्च प्राथमिकता दिएर बजेट निर्माण गरेको उपाध्यक्ष शान्ता ज्ञवालीले जानकारी दिनुभयो । शुद्धोधनले ‘एक वडा एक बाली’ पकेट क्षेत्र कार्यक्रमलाई प्राथमिकताका आधारमा अगाडि बढाइने, एक घर एक फलफूल कार्यक्रम, तरकारीमा विषादी न्यूनीकरणलगायतका कार्यक्रम समावेश गरी रु ३१ करोड ८३ लाख १८ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । 

    गाउँपालिकालाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन पशुपालक कृषकलाई प्रोत्साहनको नीतिमा जोड दिँदै गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ । रोहिणी गाउँपालिकाले गाउँपालिकाको दीर्घकालीन विकासको नीति लिँदै रु ५५ करोड ७२ लाख ३० हजार बजेट ल्याएको छ । मायादेवी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिँदै रु ६३ करोड ८७ लाख ४४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।  

    सियारी गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारमा जोड दिँदै रु ५९ करोड ४८ लाख आठ हजार बराबरको बजेट ल्याएको छ । मर्चवारी गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड दिएर रु ५३ करोड ३७ लाख ८९ हजार बराबरको बजेट ल्याएको छ भने कोटहीमाई गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्यका साथै कृषि र पूर्वाधारलाई बजेटमा जोड दिएको छ । कञ्चन गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्य तथा पर्यटनलाई उच्च प्राथमिकतामा राखेर रु ६३ करोड ३८ लाख ३५ हजार बराबरको बजेट सार्वजनिक गरिएको उपाध्यक्ष गोमा तरामुले जानकारी दिइन् । 

    कृषिमा सूर्यमुखी तेलहन कार्यक्रम, च्याउ बीउ वितरण, बेमौसमी तरकारीको उत्पादन तथा पर्यटनतर्फ गाउँपालिका–४ स्थित दानापुर तालको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटकको आकर्षण वृद्धि गर्ने बजेटमा समावेश छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले यही असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गर्नुपर्ने व्यवस्था गरेअनुसार जिल्लाका पालिकाले पनि बजेट सार्वजनिक गरेका हुन् । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन तथा विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij