२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

सिद्धार्थनगर नगरपालिकाद्वारा अस्पताललाई आँखा जाँच उपकरण हस्तान्तरण

बुधवार , आषाढ ९, २०७८

भैरहवा, ९ असार ।
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री  रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई आँखा जाँच उपकरण प्रदान गरेको छ । नगरपालिकाले अस्पताललाई ८ लाख मूल्य बराबरको आँखा जाँच उपकरण ‘स्लिट ल्याम्प’ प्रदान गरेको हो ।

बुधबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नगरप्रमुख अधिकारीले आँखा अस्पताल सबैको गहना भएकोले सक्दो सहयोग गर्नुपर्ने बताए । उनले नेपालमै परिचित रहेको यो अस्पतालले आँखाका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले यस्तो पवित्र संस्थालाई नगरपालिकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख अधिकारीले नेपाल नेत्र ज्योति संघ रुपन्देहीको भवनलाई छिटो नै निर्माणसम्पन्न गर्नुपर्ने र त्यसका लागि आफूले सहयोग गर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले कोभिड–१९ को समयमा पनि प्रत्यक्ष रुपमा बिरामीको उपचारमा लाग्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले सिद्धार्थनगरमा आँखाका बिरामी न्यून छन् भन्ने कुरा स्थापित गर्नुपर्ने बताए । उनले आँखा रोगको न्यूनीकरण गर्न स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए । 

नेपाल नेत्र ज्योति संघ रुपन्देहीका अध्यक्ष तथा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समिति सदस्य कमलराज जोशीले अस्पतालसम्म पुग्न नसक्ने बिरामीहरुलाई घरमै पुगेर उपचारको व्यवस्था गर्न नगरपालिकाले सहयोग गर्न आवश्यक रहेको बताए । 

अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा.डा. ज्ञानेन्द्र लामिछानेले अन्धोपनको न्यूनीकरण गर्न आगामी दिनमा पनि स्थानीय सरकारको सहयोग आवश्यक रहने बताए । अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।