
बिहिवार , भाद्र ११, २०७७
भैरहवा, ११ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्र कोरोना संक्रमितलाई बिहीबार स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
सिद्धार्थ सामुदायिक समाजको आयोजना, केयर नेपालको सहयोग तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा स्वास्थ्य हाइजिनिक किट वितरण गरिएको हो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले संक्रमितलाई हौसला दिनका लागि घरघर पुगेर स्वास्थ्य सामाग्री प्रदान गरिएको समाजका अध्यक्ष समिता मल्लले बताइन् । नगरभित्रका सबै संक्रमितलाई सामाग्री वितरण गरिएको उनले जानकारी दिइन् ।
सिद्धार्थनगरभित्र ११४ जनालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको नगरउपप्रमुख उमा काफ्लेले बताइन् । कोरोना संक्रमित घरघरमा पुगेकी नगरप्रमुख काफ्लेले भनिन्- ‘आत्तिनु पर्दैन तातो पानी, सुप र फलफूल खानुस, उच्च बनोबल बनाउनुस्, कोरोना संक्रमणबाट मुक्त भइन्छ ।’
सिद्धार्थनगर नगरपालिका–८ मा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडाअध्यक्ष राजनजंग राणा, वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य उमेश थापा, लक्ष्मी के.सी. लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न वडामा सिद्धार्थ सामुदायिक समाज र नगर उप्रमुख काफ्ले पुग्दा सम्बन्धित वडाका वडा अध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij