
विश्वविद्यालयको टोलीसंग उपमहानगरको परामर्श
आइतवार , आषाढ ६, २०७८
बुटवल, ५ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बुटवल टेक्निकल इन्ष्टिच्यूट (बीटीआई) को स्तरोन्नति गर्दै इञ्जिनियरिङका विभिन्न विषयमा उच्च तहका कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ । वि.सं. २०२० सालमा स्थापना भएको बीटीआई उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यवहारिक विषय बढाउने यस क्षेत्रकै पुरानो तथा प्रतिष्ठित संस्था हो । यसलाई स्तरोन्नति गरी इञ्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्न उपमहानगरले चासो बढाएको छ ।
प्राविधिक तथा सीपमूलक शिक्षालाई नीति तथा कार्यक्रममै समावेश गरेर प्राथमिकतामा राखेको बुटवलले बीटीआईमा नै प्राविधिक शिक्षाको क्याम्पस सञ्चालन गर्ने आवश्यक प्रक्रिया सुरु गरेको हो । बुटवललाई शैक्षिक क्षेत्रको हवको रुपमा विकास गर्ने तथा बुटवलमा इञ्जिनियरिङ कलेज स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रमलाई व्यवहारिक बनाउन खोजिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उनले बुटवल टेक्निकल इन्ष्टिच्यूटको पूनर्संरचना गर्दै संघ, प्रदेश तथा विकास साझेदारहरुको सहकार्यमा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताए ।
व्यवहारिक, व्यवसायिक र सीपमूलक शिक्षाको खाँचो बढ्दै गएका बेला उपमहानगरले सोही विषयको आधारभूत कक्षा सञ्चालन गर्ने संस्थालाई नै स्तरोन्नति गर्ने सकारात्मक पहल थालेको छ । आर्थिक विकासमा समृद्धि बनाउने राष्ट्रिय संकल्पलाई मूर्तरूप दिन स्थानीय पालिकामार्फत उत्तरदायित्व वहनको प्रयास थालिएको प्रमुख सुवेदीको भनाइ छ । अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवा शक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने उनको विश्वास छ । बीटीआईमा अहिले २ वर्षे ओभरसियर र ४ वर्षे सवओभरसियरको पढाई हुँदै आएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसंग परामर्श
प्राविधिक विषयमा उच्च तहको पठनपाठनका लागि उपमहानगरले विश्वविद्यालयसंग सम्बन्धन लिने तयारी गरेको छ । लुम्बिनीमै केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयले इञ्जिनियरिङ विषयका लागि सम्बन्धन दिन सक्ने व्यवस्था छ । यद्यपि सम्बन्धन दिने विषयमा तत्काल निर्णय भने नहुने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बताए ।
इञ्जिनियरिङ विषयमा परामर्श गर्न उपमहानगरले लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमै पुगेर उक्त विश्वविद्यालयका अधिकारीहरुसंग परामर्श गरेको थियो ।
उपमहानगरका प्रमुख सुवेदी, उपपप्रमुख गुमादेवी आचार्य, संविधानसभा सदस्य नेत्र पन्थी, बीटीआई सञ्चालक सदस्य तथा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, नगर योजना आयोग बुटवलका सदस्य सचिव मेघराज भट्टराई, बीटीआई उपनिर्देशक इञ्जिनियर अभिमन्यू भिमार्जुन पन्थी तथा मेकानिकल इञ्जिनियर मनोज भुसालसहितको टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमै पुगेर परामर्श गरेकोे जानकारी दिए ।
त्यस अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्य, अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी, अन्तर्राष्ट्रिय समन्वय शाखा संयोजक डा. सञ्जिव हुमागाइँ, पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले, निमित्त क्याम्पस प्रमुख निरबहादुर गुरुङ लगायत सहभागि रहेका थिए ।
बीटीआईमा अहिले २ वर्षे ओभरसियर र ४ वर्षे सवओभरसियरको पढाई हुँदै आएको छ । यसलाई स्तरोन्नति गर्दै ४ वर्षे स्नातक र २ वर्षे स्नातकोत्तर सञ्चालनका लागि उपमहानगरका प्रमुख सुवेदीको नेतृत्वमा विश्वविद्यालयसंग परामर्श गरिएको हो ।
बुटवल उपमहानगरसंग सहकार्य हुनेछ : रजिष्ट्रार
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बुटवल उपमहानगरले समयसापेक्ष र महत्वपूर्ण प्रस्ताव ल्याएको भन्दै विश्वविद्यालयमा सम्बन्धित अधिकारीहरुसंग छलफल गरिने बताए । उनले तत्काल सम्बन्धनको विषय भन्दा पनि तत्कालै सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने र छिट्टै काम अगाडि बढाइने जानकारी दिए । विश्वविद्यालयले विभिन्न पालिकाहरुसंग सहकार्य गर्न सुरु गरेको बताउँदै उनले बुटवल जस्तो मुलुककै आर्थिक र व्यापारिक केन्द्रसंग विश्वविद्यालयको सहकार्य स्थापित गर्न पाउनु झन खुशीको कुरा रहेको बताए ।
बीटीआई मार्फत कैयौं उद्योग र प्राविधिक जनशक्तिको उत्पादन
अप्रेन्टेसेसिप तालिमको माध्यमबाट दक्ष जनशक्ति तयार पार्ने तथा नेपालको आद्योगिक र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले बीटीआईले प्राविधिक विषयमा आधारभूत कक्षा सञ्चालन गर्दै आएको छ । संघीय मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा कम्पनी एैन ०६३ का अनुसार नाफा वितरण नगर्ने कम्पनीको रुपमा
बुटवल उपमहानगरपालिका, संघीय अर्थ मन्त्रालय तथा उद्योग मन्त्रालय समेतको प्रतिनिधित्वमा बीटीआईलाई थप व्यवस्थित बनाउने काम सुरु भएको छ । बीटीआईले हालसम्म नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, बुटवल प्लाईउड फेक्ट्री, बुटवल उड इण्डष्ट्रिज, गोवर ग्याँस कम्पनी, बुटवल इञ्जिनियरिङ वक्र्स, डीसीएस, हिमाल हाइड्रो, बुटवल पावर कम्पनी जस्ता उद्योगहरुको स्थापनामा सहभागि भएको छ ।
बीटीआईबाट उत्पादित तालिमेहरुबाट सयौं उद्योगहरुको स्थापना र सञ्चालन भएका छन् । यीमध्ये कतिपय संस्थाहरु नेपाल सरकारलाई हस्तान्तरणसमेत भइसकेको अवस्था छ । बीटीआईले अप्रेन्टेसेसिप तालिम लिएकाहरुको व्यवहारिक र प्रयोगात्मक कक्षाका लागि यस क्षेत्रका विभिन्न ४५ वटा उद्योगहरुसंग सहकार्य गरिरहेको उक्त संस्थाका कार्यकारी निर्देशक पीएल श्रेष्ठले बताए । २ वर्षे ओभरसियर र ४ वर्षे सवओभरसियरका कक्षामा गरी ३ सय विद्यार्थीले पठनपाठन गर्दै आएको उपनिर्देशक ई. पन्थीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij