२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

स्वास्थ्यमा संवाद

स्वास्थ्यमा बजेट बढाउने स्थानीय तहका प्रमुखहरुको जोड

आइतवार , आषाढ ६, २०७८

बुटवल, ६ असार ।
स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी नीथि, कार्यक्रम तथा प्रयाप्त बजेटको आवश्यकतामा जोड दिइएको छ । सम्वाद समूह, सचिवालय तल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशको सहकार्यमा आइतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो । 

स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरीय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको बजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहँच बढाउने उल्लेख गरिएको छ । त्यसै गरी स्थानीय सरकारले पनि बजेट सार्वजनिक गर्न लागिरहेको स्थितिमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनीधीबीच संवाद गरिएको हो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र वजेट छुटयाइएको बताउँदै सोही अनुसार कार्यान्वयनका लागि सम्वद्ध निकाय प्रतिवद्ध हुनेपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले उपलब्ध बजेट र सीमित स्रोतसाधनको अधिकतम उपभोग गर्ने वातावरण सिर्जना गर्दै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आहवान गरे । 

नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले स्थानीय तहले स्वास्थ्य पूर्वाधार निर्माण र सचेतनामा जोड दिनुपर्ने बताए । नेपाल नगरपालिका महासंघका लुम्बिनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे पनि सरकार र सम्वद्ध सरोकारबीचको समन्वय आवश्यक भएको बताए । नेपाल गाउँपालिका महासंघ लुम्बिनी अध्यक्ष एव छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, प्युठानका मेयर अर्जन कक्षपथि लगायतका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकता साथ बजेट छुटयाउन र कार्यान्वयन गर्न कन्जूस्याई गर्न नहुने तर्क गरे । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलबहादुर घर्ती, भेरी अष्पतालमका मेसु डा. प्रकाश थापा, डब्लु.एच.ओ.का प्रतिनिधि हरि भुसाल लगायतले आवश्यक सुझाव राखेका थिए ।

सम्वाद समूह, सचिवालय तल्सीपुरका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत, विक्रम खड्काद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागिता रहेको थियो ।