२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

प्रहरीलाई अपशब्द प्रयोग गर्नेमाथि कारवाही हुनुपर्ने माग

शुक्रवार , आषाढ ४, २०७८

भैरहवा, ४ असार । 
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई कारवाही हुनुपर्ने यहाँका युवाहरुले माग गरेका छन् । करिब ४५ दिनअघि निषेधाज्ञाको उल्लंघन गर्दै संक्रामक रोग ऐन २०२० लाई चुनौती दिदै ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई गालीगलौज गर्नेमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

भैरहवाका युवा रवि कुमार रौनियारको नेतृत्वमा युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै करिब ४५ दिनअघि ज्वाला संग्रौलासंग उनको सवारीचालक अनुमतिपत्र माग्दा उनीसहित संगै रहेका अन्य ३/४ जनाले ट्राफिक प्रहरी सहायक निरीक्षक झामाथि अपशब्द प्रयोग गरेकोले उनीहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत बुझाइएको गृहमन्त्री अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘काठमाण्डौं उपत्यकाभित्र निषेधाज्ञाको उल्लघंन गर्दै हिंडेका व्यक्तिहरुलाई प्रहरीले सोधपुछ गर्दै चेकजाँचको क्रममा सवारीचालक अनुमति पत्र माग्दा सामाजिक अभियन्ता भनाउँदाले समुदाय विशेषलाई नै होच्याउने गरीअपशब्द प्रयोग गरेकोले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१० को दफा १६० र १६६ को अपराध र सोही संहिताको परिच्छेद २७ को दफा ३०५ को समेत कुसर गरेकोले यस्तो गलत कार्य गर्ने व्यक्तिहरुलाई कारवाही हुनुपर्छ ।’

‘तेरो सरुवा माथिल्लो निकायबाट गराइदिन्छु ’भन्दै धाकधम्की दिएर नेपालको ऐन, नियम, कानूनको समेत उल्लंघन गर्नेमाथि गृह मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायले के कति कारणले कारवाही गर्न नसकेको हो भन्दै ज्ञापनत्रमा प्रश्न गरिएको छ ।

तत्काल यस्ता किसिमका प्रवृत्तिलाई कानूनको कठघरामा नउभ्याइए नागरिकप्रति विभेद रहेको मानिने र सो को लागि अन्तर्राष्ट्रियस्तरमा समेत पुुग्नुपर्ने अवस्थाको सिर्जना हुने युवाहरुको भनाइ छ ।  एउटै देशका नागरिकलाई समान दृष्टिकोणले नहेरी भेदभावपूर्ण व्यवहार गर्नु भनेको नेपालको संविधान २०७२ को बर्खिलापको कार्य हुने रवि कुमार रौनियारले बताए । 
ज्ञापनपत्र बुझाउने कार्यक्रममा रवि कुमार रौनियार, संजय कुमार गुप्ता, इन्द्रजित राय, विरेन्द्र ज्ञवाली, रमजान आलम लगायतको उपस्थिति रहेको थियो । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले तत्काल ज्ञापनपत्र गृह मन्त्रालयमा पठाउने बताए ।