
बुधवार , आषाढ २, २०७८
भैरहवा, २ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण; युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी; जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण; र महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित रहेको नगरप्रमुख घिमिरेले बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिसहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको उनले स्पष्ट पारे ।
दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भइहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।
त्यस्तै सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ ।
कोरोनाविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि ‘नगर प्रमुख विपन्न नागरिक सहायता कोष’ स्थापना गर्ने, प्रत्येक स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सबै सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तिलोत्तमाले शिक्षा क्षेत्रका चालु आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, इन्टरनेट सेवाको व्यवस्था मिलाउने, कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा गरेको छ ।
सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले ‘ग’ वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपांगता भएकाहरुलाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिने घोषाणा गरेको छ ।
त्यस्तै अपांगता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शत प्रतिशत छुट दिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ । ‘युवा तथा महिलासँग उपमेयर कार्यक्रम’ सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसँग जोड्दै सहुलियतपूर्ण कर्जा व्यवस्था गर्ने नीति लिएको छ ।
मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने नीति लिएको तिलोत्तमाले दलहन, तेलहन बालीको बीउमा समेत अनुदानको व्यवस्था गरिने जनाएको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न सुकुम्बासी समस्या समाधान आयोगसँग कार्यसम्झौता गरी लगत संकलन गरिएको र जग्गा नापजाँचको लागि आवश्यक तयारी अघि बढिसकेकोमा आगामी आर्थिक वर्षमा त्यसलाई सम्पन्न गराउन प्राथमिकता दिइने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
तिलोत्तमाले ‘मेयर नगर आवास कार्यक्रम’ सञ्चालन गरी आगामी आर्थिक वर्षमा मापदण्डको आधारमा अतिविपन्न निश्चित वर्ग÷समुदायका ५० परिवारलाई घर बनाउन प्रतिघर रु २ लाख अनुदान उपलब्ध गराइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षमा नयाँ सडक कालोपत्रे गर्ने कार्यलाई भन्दा पुराना जीर्ण अवस्थामा रहेका पक्की सडकको मर्मत सम्भारलाई प्राथमिकता दिइने, घर नक्सा पासलाई अनलाइन प्रविधिबाट डिजिटलाइज गर्ने, विपद्मा छिटो छरितो उद्दार तथा व्यवस्थापन गर्न दक्ष जनशक्तिसहितको विपद् व्यवस्थापन केन्द्र निर्माण गरिने तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षमा कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा व्यापार/व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेकोले आगामी आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय कर तिर्दा व्यवसायीलाई तीन महिनाको कर छुट दिने, चालु आर्थिक वर्षमा सबै प्रकारका कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिइने तथा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिने तिलोत्तमाको नीति रहेको छ । सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिने पनि नगरपालिकाले जनाएको छ ।
नगरसभा सदस्यका साथै राजनीतिक दल, संघ-संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको नगरसभाको पहिलो सत्रमा नगर प्रमुख घिमिरेले पेश गरेको नीति तथा कार्यक्रम दोस्रो सत्रको बैठकले सर्वसम्मत पारित गरेको छ । नगरसभाको अर्को बैठक यही असार ८ गते बस्नेछ । स्थानीय सरकारको यो बजेट अधिवेशन हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij