२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छ: मन्त्री बानियाँ

सोमवार , जेठ ३१, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं,  ३१ जेठ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन् ।

    काठमाडौँमा उपलब्ध कर्णाली प्रदेशका निजामती र सार्वजनिक सेवामा रहेका अधिकृतसँगको परिचयात्मक कार्यक्रममा आइतबार उनले सुशासन, सुपरीवेक्षण र सुसमन्वयमा कार्यालयको ध्यान केन्द्रित हुने बताए ।

    प्रधानमन्त्री कार्यालयअन्तर्गत ४८ वटा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यी प्रमुख विषयमा नतिजामूलक तवरले कार्य सम्पादन गर्ने आफ्नो प्रयास रहने बताए ।

    ‘राष्ट्रिय गौरवका आयोजनालगायत अन्य परियोजनाको निर्माण तथा कार्यान्वयनमा पनि विशेष ध्यान दिइनेछ,’ उनले भने ।

    नेपाल सरकारका विभिन्न मन्त्रालयसँगको समन्वयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नेतर्फ प्रयास केन्द्रित गरिने उनको भनाइ थियो । सो परिचयात्मक कार्यक्रममा सहभागी राष्ट्र सेवकले नवनियुक्त मन्त्री बानियाँलाई विभिन्न रचनात्मक सुझाव दिएका थिए । रासस