
आइतवार , जेठ ३०, २०७८
तनहुँ, ३० जेठ ।
कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।
म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।
रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
‘जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ’, उनले भने । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।
पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । ‘उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ ’, उनले भने, ‘रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।’
रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । ‘दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ, ’ उनले भने । उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।
डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरितपार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–८ पीपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच/पाँच लाख बजेट विनियोजन गरेको छ ।
अस्पताललाई अक्सिजन सिलिण्डर
राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिका पहलमा दमौली अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । समितिका अध्यक्ष रीता ढकाल र युवा समाजसेवी अमरराज सोतीको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताललाई कोभिडविरुद्ध सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताललाई तीन थान अक्सिजन सिलिण्डर, कोभिड–१९ गाउन सेट २००, मास्क दुई हजार थान, एक्जामिनेशन (लुज) ग्लब्स २५० जोर, फेससिल्ड सय थान, गम बुट १० जोर दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शनिबार हस्तान्तरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने उद्देश्य र कोरोना संकटको जोखिम न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने युवा समितिका अध्यक्ष ढकालले जानकारी दिए ।
त्यसै गरी व्यास नगरपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट आठ थान अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोभिड–१९ संक्रमितको उपचारमा सघाउन मन्त्रालयले नगरपालिकालाई अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरपालिकाका अनुसार एक थान अक्सिजन कन्सन्ट्रेटर, पिपिई, अक्सिमिटर, मास्क, फेससिल्डलगायत स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो सामग्री व्यास नगरपालिका–८ का युवा अभियन्ता अमर सोतीले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij