
आइतवार , जेठ ३०, २०७८
बुटवल, ३० जेठ ।
लिक्विड अक्सिजन प्लान्ट निर्माण रुपन्देहीको सेमरहवामा आजदेखि सुरु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४, मा निर्माण कार्य सुरु गर्न लागेको शंकर अक्सिजन ग्यास उद्योग प्रालीको प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट शुभारम्भ गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनमा आत्मनिर्भर कायम गर्ने प्रयासको प्रशंसा गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रवन्ध सरकारले कार्यान्वयनमा ल्याएको उल्लेख गरे । सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अंगहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको बताए ।
लुम्बिनी प्रदेशका जनसंख्या तथा स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले उपलब्ध गराउने सहुलियत उपलब्ध हुने बताए । उद्योगका सञ्चालक एवं प्रबन्ध निर्देशक शंकर अग्रवालले रु १ अर्बको लगानीमा उद्योग सञ्चालन गरी करिब १ वर्षमा निर्माण काम सम्पन्न गरी यसलाई बजारमा पठाउने लक्ष्य राखिएको बताए ।
प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र १ टन नाइट्रोजन ग्याँस प्रतिदिन उत्पादन गर्न सकिनेछ । लागत, ढुवानी लगायतको खर्चमा कमि हुने भएकोले सामान्य अक्सिजन ग्याँसभन्दा यो ग्यासको मूल्य कम पर्ने उद्योगका प्रवन्धक शम्भु भण्डारीले जानकारी दिए । कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गरेका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij