२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न संगठनको माग

आइतवार , जेठ ३०, २०७८

भैरहवा, ३० जेठ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । संगठनले विद्यार्थीहरुको भविष्य निर्माणमा साक्षात्कार भइ अहोरात्र खटिरहनुपर्ने तथा अभिभावकसंग निरन्तर सम्पर्कमा रहनुपर्ने शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको पनि खोप नलगाइएकोले उक्त व्यवस्था गर्न माग गरेको हो ।

संगठनले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कोभिड–१९ विरुद्धको खोप सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई उपलब्ध गराउन माग गरेको छ । सरकार तथा सम्बन्धित सरोकारवालाले खोप उपलब्ध गराइ सुरक्षित तवरमा शैक्षिक गतिविधि सञ्चालन गर्न वातावरण निर्माणका लागि आश्यक पहल गरिदिन ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष पवित्रा कोइरालाले बताइन् । ‘

संघीय सरकारले नयाँ शैक्षिक सत्रका लागि असार १ गतेदेखि भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ, यस अवधिमा शिक्षण क्रियाकलापमा सहभागिहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने अवस्था नआओस् भनी उक्त कार्यलाई मध्यनजर गर्दै खोपको व्यवस्था गर्नुपर्छ, ’कोइरालाले भनिन् ।

कतिपय क्षेत्रका व्यक्तिले कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाइसक्दा पनि शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको खोप पनि उपलब्ध नगराइएको नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति सिद्धार्थनगर, रुपन्देहीका सचिव भरत गिरीले बताए ।