
आइतवार , जेठ ३०, २०७८
बुटवल, ३० जेठ ।
स्याङ्गजा जिल्लाको फेदीखोला २ स्थित भालुपहाड नजिकै गएको पहिरोको कारण रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज बिहानदेखि एकतर्फी खुलेको छ । हिजो रातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण फेदीखोला २ को भालुपहाडमा पहिरो गएको र पहिरोका कारण सडक अवरुद्ध थियो ।
सडक तत्कालका लागि एकतर्फी रुपमा संचालनमा आएको भएपनि दुवैतर्फ सवारी साधन सुचारु हुन केही समय लाग्ने स्याङ्गजा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति २ बजे ठुलो चट्टान सहित पहिरो खसेको स्थानियले बताएका छन् । प्रहरी भन्छ— ‘सडक डिभिजन कार्यालय पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो ।’
पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा दर्जनौं स्थानमा पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij