
बुधवार , जेठ २६, २०७८
भैरहवा, २६ जेठ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचाररत बिरामी कुरुवाहरुलाई निःशुल्क मास्क, सेनिटाइजर र पानी वितरण गर्ने उद्देश्यले बुधबार हेल्प डेस्कको स्थापना गरिएको अनेरास्ववियु क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीले बताए ।
‘अनेरास्ववियुले स्थापनादेखि नै विद्यार्थीहरुको हकहितको लागि काम गर्दैै आएको छ, राष्ट्रिय युवा संघले पनि रचनात्मक काम गर्दै आएको छ, कोरोना महामारीमा अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरुलाई केही सेवा दिन सकियोस् भन्ने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेका हौं, ’उनले भने ।
बुधबार पहिलो दिन १ सय जनालाई मास्क, सेनिटाइजर र पानी वितरण गरिएको कार्यक्रम संयोजक तथा अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भण्डारीले जानकारी दिए ।
यस अघि अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले संयुक्त रुपमा सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको एमाले युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’ले बताए ।
आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यहरुलाई अगाडी बढाउने युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीका इञ्चार्ज नर्जुङ्ग गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij