२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

बुटवल उपमहानगरपालिकाद्वारा बालरोग विशेषज्ञहरुसंग परामर्श

महामारीका सम्भावित नयाँ लहरको पूर्वतयारीमा जुट्न आग्रह

आइतवार , जेठ २३, २०७८

बुटवल, २६ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षा लगायतका विषयमा विज्ञहरुसंग छलफल गरेको छ ।  खासगरी आउने लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि यहाँका बालरोग विशेषज्ञहरुसंग उपमहानगरले छलफल र परामर्श गरेको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (युसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा प्रतिनिधिहरुसंग आइतबार उपमहानगरमा विशेष छलफल भएको हो । 

महामारीको तेस्रो लहरको पूर्वतयारी स्वरुप बालरोग विशेषज्ञहरुसंग सम्भावित जोखिम न्यूनीकरण र विद्यमान जनशक्तिका बारेमा छलफल गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । सार्वजनिक, निजी तथा सामुदायिक अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गर्नुका साथै तीनै तहका सरकारबाट आवश्यक सहयोगका बारेमा विज्ञहरुसंगै विशेष छलफल भएको प्रमुख सुवेदीले बताए ।

आम्दा अस्पताललाई मातृ र शिशु स्याहार केन्द्रका रुपमा विकास गर्नेगरि उपमहानगरले विभिन्न पक्षहरुको सहकार्यमा काम अगाडि बढाएको प्रमुख सुवेदीको भनाइ छ । उनले महामारीको लहरले सताउने अवस्था आएमा त्यसको सामना गर्नका लागि योजना बनाउन जिल्लामा रहेका विशेषज्ञहरुसंगै छलफलको आयोजना गरिएको बताए ।

सो छलफलमा सहभागी विशेषज्ञहरुले आउने लहरले बालबालिकालाई नै लक्षित गरेर सताउने भन्ने वैज्ञानिक आधार नभएपनि खोपको प्रयाप्तता नहुँदासम्म जुनसुकै उमेर समूहलाई पनि जोखिम कायमै रहेको बताएका थिए । 

विशेषज्ञहरु डा. राजु काफ्ले, डा. सन्तोष पोखरेल, डा. नेत्रबहादुर राना, डा.अजय श्रीवास्तव तथा डा. हीम श्रेष्ठ लगायतका विभिन्न अस्पतालमा कार्यरत बालरोग विशेषज्ञहरुले पूर्वतयारीमा आफुहरु सतर्क र सजग भएर लागेको तर, साधनस्रोत र जनशक्तिको व्यवस्थापनमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

महामारी आइहाल्दा विद्यमान संरचना, साधन स्रोत र जनशक्तिले मात्रै थेग्न गाह्रो पर्न सक्ने भन्दै विशेषज्ञहरुले उपकरण र केही स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरेका थिए । 

बालरोगसंग सम्बन्धित विशेषज्ञहरुको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमार्फत महामारीविरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष पोट्रोकल समेत तयार भएको उक्त सञ्जालमा समेत आवद्ध रहेका डाक्टर राजु काफ्लेले बताए ।

तत्कालै आत्तिइहाल्नुपर्ने अवस्था नरहे पनि सचेतना, सावधानी र पूर्वतयारी अत्यन्त जरुरी रहेको विशेषज्ञहरुको भनाइ छ । कोभिडका हालसम्मका लहरमा बालबालिका पनि संक्रमित भएका र उनीहरुमध्ये धेरैमा संक्रमणका लक्षण कम पाइएको र गम्भिर अवस्था पनि नभएको पाइएको विशेषज्ञहरुले बताएका छन् । 

बालबालिकामा एन्टीबोडी र भाइरसंग जुध्ने क्षमता फरक खालको हुने भएकाले पनि संक्रमितले चाँडी परास्त गर्न सकेको पाइएको विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए ।

बालरोग विशेषज्ञहरुसंगको छलफलमा उपप्रमुख गुमादेवी आचार्य, विज्ञहरु बाबुराम भट्टराई, एजाज आलम, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा उपमहानगरका स्वास्थ्य, शिक्षा र जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनाल र उपमहानगरका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । विज्ञहरु भट्टराई र आलमले पूर्वतयारीलाई तीव्रता दिनुपर्ने र अफवाहलाई चिर्दै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उपमहानगरमा भएको छलफलमा सहभागी डाक्टरहरु डा. अरुण पोखरेल, डा. मनोज कुशवाह, डा. लक्ष्मण पौडेल, डा. किरण पन्थी, डा. नारायण पोखरेल लगायतले साधनस्रोत र जनशक्तिको व्यवस्थापनमा ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गरेका थिए । 

उपमहानगरका स्वास्थ्य जनस्वास्थ्य अधिकृत उमादेवी थापाले हालसम्म उपमहानगरमा रहेका बालबालिकामा संक्रमण नदेखिएको र केही बालबालिकामा ज्वारो आउने समस्या देखिए पनि एकदुई दिनमै ठिक भएको भन्दै रिपोर्ट आएको बताइन् ।

नेपालमा तेस्रो र चौथो लहर आउँदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले केही दिन अघि सबै अस्पताललाई अक्सिजनको व्यवस्थापनसहित २० प्रतिशत शैया बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।