२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कोभिडविरुद्धको खोपमा शिक्षकलाई प्राथमिकता दिन संगठनको माग

शुक्रवार , जेठ २१, २०७८

भैरहवा, २१ जेठ । 
नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीले कोभिड–१९ विरुद्धको खोपमा शिक्षकलाई प्राथमिकता दिन माग गरेको छ । संगठनले लाखौं विद्यार्थीसंग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर काम गर्ने वर्गलाई प्राथमिकतामा पारी तत्काल खोप लगाएर मनोबल उच्च पार्न माग गरेको छ । 

संगठनले बिहीबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानार्षण पत्र पठाउँदै विद्यार्थीको वार्षिक नतिजा तयार गर्ने तथा शैक्षिक गतिविधि सञ्चालन गर्ने वातावरण मिलाउनको लागि आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेको छ ।

नयाँ शैक्षिक सत्र सञ्चालन गर्नुपर्ने अवस्थामा हजारौं संक्रमित र रुपन्देही जिल्लामा पनि हालसम्म २१ जना शिक्षकको मृत्यु भएको समाचार प्राप्त भएकोले शिक्षकलाई खोपमा प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष धनिश्वर गौतमले बताए ।   

सरकारले कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सहकारी, बैंक तथा विभिन्न संस्थामा कार्यरत नागरिकलाई कोभिड खोप लगाउँदा पनि लाखौं विद्यार्थीसँग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रहेर काम गर्ने वर्गलाई प्राथमिकतामा नपार्नुले गम्भिर बनाउनुको साथै सरकारप्रति सोचनीय बनाएको गौतमले बताए ।   

शिक्षक संगठन रुपन्देहीले २०७८ वैशाख १० गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा समेत ध्यानाकर्षण गराउँदा शिक्षक तथा विद्यालय कर्मचारीलाई पहिलो प्राथमिकतामा पार्ने प्रमुख जिल्ला अधिकारीबाट प्रतिवद्धता भएको र यस विषयमा संठनले सरोकारवालासंग समन्वयकारी भूमिका गर्दै आएको जिल्ला सचिव यज्ञ सापकोटाले जानकारी दिए । ‘मृत्युवरण गर्ने र संक्रमित सबैका आफन्तजन एवं आम जनमानसमा यसले डर र त्रासको मनोवैज्ञानिक असर पारेको यथार्थता छ, ‘उनले भने ।

संगठनले उक्त ध्यानाकर्षण पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति,  (५) नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति,  जिल्ला प्रशासन कार्यालय, रुपन्देही र रुपन्देहीका १६ वटै स्थानीय तहमा समेत पठाएको जनाएको छ ।