
शनिवार , जेठ १५, २०७८
भैरहवा, १५ जेठ ।
थाइल्याण्डका राजपरिवारले कोरोना महामारीको बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । थाइल्यान्डका राजा महाबलिरालंकन फा बजिरक लाओचाओईहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोग उपहार स्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन थालेका हुन् ।
थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५ सय २० थान, पीपीइ लेग कभर १० हजार जोडी, पीपीई सर्जिकल क्याप १० हजार थान, फेस शिल्ड ५ हजार पिस, रेपीड एन्टीजन युनिट २० हजार युनिट, फिंगर टिप्स पल्स अक्सिमिटर ६ सय थान, डिजिटल थर्मोमिटर १५ सय थान, बोडी ब्याग १ हजार पीस, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्स्ट्रेन्टर ८ थान नेपाल सरकारलाई सहयोग स्वरुप पठाउन थालेको हुन् ।
थाई राजपरिवारको स्वास्थ्य सहयोग आइतबार (भोलि) थाई राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाण्डौ पुग्ने भिक्षु सुगन्धले बताए । सहयोगको लागि नेपालका राष्ट्रपतिबाट थाई नरेशलाई सहयोगको लागि पत्राचार भएको थियो । उक्त पत्र प्राप्त भएपछि थाई नरेश खुशीसाथ नेपाललाई सहयोग गर्ने गरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिए ।
थाइल्यान्डका राजपरिवारको अत्यन्तै निकट भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो । शाक्यले भने, ‘थाई राजपरिवारसंग भिक्षु सुगन्धले पहल गर्नुभयो, यता नेपालमा हामीले समन्वय गर्यौं । हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले सहर्ष स्वीकारी सहयोग गर्न थालेको हो ।’
भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्व विश्वविद्यालय बैंकक, थाइल्यान्डका रेक्टर समेत हुन् । उनले बैंककको कारागारमा आजीवन कारबासको सजाय भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फासीको लागि सजाय सुनाइएकाहरुलाई पनि बाचुञ्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आएका छन् ।
भिक्षु सुगन्ध महास्थविर थाइल्याण्डको बौद्ध भिक्षु परम्परामा चौथो बरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु समेत हुन् । थाइल्याण्डमा उनलाई डा. अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहार वाट बोभर्नका उपप्रमुख समेत हुन् ।
कोरोनाको दोस्रो लहर चलिहरको बेला स्वास्थ्य सामग्रीको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भईरहेको बेला थाई राजपरिवारबाट आउने सहयोगले धेरै नेपालीको ज्यान बचाउन भूमिका खेल्ने देखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij