आइतवार , कार्तिक २९, २०८३
कार्तिक महिना २० गते, तेस्रो शुक्रबार बुटवल घर फर्किदा, घर छाडेको पनि चार दिन भइसकेको थियो । छोरा र श्रीमती घरमा थिएनन् । छोरोलाई फोन गर्दा कलेज र श्रीमती बजारबाट सागसब्जी किनेर फर्किदै रहेछन् । मोटरसाइकलको यात्रामा हावा खाँदै यात्रा गर्नुको मज्जा बयान गरी साध्य हुँदैन । यात्राका सारथी थिए–मनीष पन्थ । उनले र मैले श्रीनगर अनलाइन मिडियाबाट कार्यक्रम घुम्दैफिर्दै प्रसारण गर्दै आइरहेका छौं । मुख्य विषय द रियल स्टोरीका लागि बलियो पात्रको खोजीमा नै अचेल हाम्रो यात्रा अघि बढिरहेको छ ।
२०८३ असार १७ गते बुधबारदेखि हामीले श्रीनगर फिल्मस् प्रा.लि.को युट्यूब च्यानलमा द रियल स्टोरी प्रत्येक बुधबार साप्ताहिक रुपमा समेत प्रसारण गर्दै आइरहेका छौं । जीवनमा कठिनतम संघर्ष गरेका र सफलताका लागि अग्रसर भूइँमान्छेहरु नै हाम्रो द रियल स्टोरीको रियल पात्र हुन् । उमेरलेभन्दा पनि कामले आफ्नो पहिचान बनाएका वा बनाउँदै गरेका ,दुःखका पहाडहरुलाई कुहिनाले भत्काउने कोशिष गरेका, संघर्षलाई सफलतातर्फ उन्मुख गराउँदै अग्रगामी बाटो पहिल्याउने सफल ब्यक्तित्वहरुको खोजी नै आजको मुख्य काम मानेका छौं मनीष र मैले ।
कार्तिक १७ गते मंगलबार विहान सवा ८ बजे बुटवलको चौराहबाट नारायणघाटका लागि मोटरसाइकलमा हान्निएका थियौं । करिब पोनै घण्टाको यात्रापछि चिसापानी सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको सीमसार क्षेत्रको छेउमा सञ्चालित रिसोर्टमा खाजा खान पस्यौं । हामीलाई चिसापानी सामुदायिक वनका अध्यक्ष हुमबहादुर गुरुङ र महिला अधिकारकर्मी दया दर्लामीले चियाखाजाले स्वागत गरे । केहीबेर सीमसारको रुपमा रहेको तालमा डुङ्गा यात्रा गर्दै कार्यक्रम घुम्दैफिर्दै रेकर्डिङ्ग गर्यौ ।
अध्यक्ष हुमबहादुर गुरुङले सीमसारको संरक्षण, व्यवस्थापन, रिसोर्ट सञ्चालन, पर्यापर्यटन विकासका लागि आफ्नो समूहले खेलेको भूमिका गर्दै आएको उन्नतशील कर्म र आम्दानीसँग वनलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा करिब २० मिनेट डुंगामा नै सम्वाद गरियो । यी सबैको चाँजोपाँजो मिलाइदिने काम महिला अधिकारकर्मी दयाको नै थियो । छाँयाकनपछि केहीबेर सम्पादन गरी कार्यक्रमलाई अप्लोड गर्यौं । त्यसपछि हामी नारायणघाटतिर लम्कियौं ।
करिब एकघण्टाको यात्रापछि मनीषले मलाई कावासोती पुर्याए । कावासोतीको तनहुँ होटलमा खाना खायौं । पैसा तिर्नेबेला मेरा शिष्य दुमन्ती थापा आइपुगिन् । हामीले खाएको खानाको पैसा उनले थाहै नपाइ तिरेको कुराले केहीबेर अप्ठ्यारो महसुस् भो । मनीषले पैसा फिर्ता गर्न दुमन्तीसँग मरिहत्ते गर्दा नि उनले भातको पैसा तिरी छाड्नि । सम्झनाका लागि फोटो खिचायौं । नरमाइलो मानेर छुट्टियौं ।
नारायणघाटको पुलचोक पुगी उत्तरपूर्वतिर लागेर हामीले डिभिजन वन कार्यालय, चितवनमा वरिष्ठ डिभिजनल अधिकृत विष्णुप्रसाद आचार्यलाई भेट्यौं । उनीसँगै द रियल स्टोरीको एउटा पार्ट छांयाकन गरियो । त्यसपछि उनले भनेअनुसार चेपाङ, चिउरी र चमेराको अन्तरसम्बन्ध बुझ्न उनीसँगै फिल्डतिर लाग्यौं । कालिका नगरपालिका वडा नम्बर ११ को रन्केस बजारमा पुग्यौं । इन्द्रेणी सावउसका अध्यक्ष सन्देश चेपाङसँग डिएफओ साहेबले चिउरीका बारेमा घनिभूत छलफल गरे । चिउरीको महका बारेमा उनीसँग सोधपूछ गरे । त्यहाँ पुग्न अघि हामीले गाउँकै स्कूले नानी गीता चपाङलगायत उनका साथीहरुसँग चिउरीका बारेमा बाटैमा वार्ता गरेका थियौं । फरासिला ती नानीहरुको कुरा सुनेर रमाईलो पो लाग्यो हामीलाई पनि ।
डिएफओ साहेबले हामीलाई आवास र खानाको प्रबन्ध गरेर आफूहरु आफ्नै निवास भरतपुरतिर फर्किए । हामीले सन्देशको घरमा शरण लियौं । सानी नातिनीलाई स्याहार गर्दै गरेकी सन्देशकी श्रीमतीलाई समेत भेट्यौं । साँझको खाना सन्देशले पकाए । मासु परपर्ती भुटे । तरकारी र दालले हामीलाई भातसँगै भव्य स्वागत गरे । भोको पेटलाई मनीष र मैले तातोतातो दालभात र मासुले सेक्यौं । सन्देशको पाक्वकला देखेर खुसी प्रकट गर्यौं ।
मनीष र मैले सन्देशसँग घरायसी, पारिवारिक, सामाजिक र राजनीतिक कुरा समेत गर्यौं । उनले आफूहरुको आर्थिक अवस्थामा सुधार गर्नका लागि चिउरी सर्वस्व रहेको बताउँदै गर्दा चिउरीमा दाना लाग्न छाडेको चिन्ता प्रकट गरे । चिउरी बेचेर लत्ताकपडा, शिक्षादीक्षा, स्वास्थोपचार र घर व्यवहार चलाएको कुरा सुनाए । आफूले धर्म परिवर्तन गरेको कुरा सहर्ष सुनाए । उनीसँग धर्म परिवर्तनका बारेमा सोध्दा पहिला धेरैजसो चेपाङहरुले मारकाट गर्ने, जाँडरक्सी खाएर मात्तिने, जुवा खेलेर दिन बिताउने, परिवारमा झैंझगडा गर्ने बानी थियो । तर, अचेल माथि उल्लेखित कुरा धर्म परिवर्तनपछि च्याट्टै छाडेको सुनाए । आफूहरु भूइँमा सुतेर हामी दुबैलाई पलङ्गमा सुताए । पाहुनाप्रतिको आतिथ्यता, स्वागत र सत्कारले मनै फुरुङ्ग भो ।
बुधबार बिहानै उठेर हामी कालिका नगरपालिकाको ११ नम्बर वडा कार्यालय रहेको केरेलिङ गाउँतिर पुग्यौं । नगरपालिका भएपनि गाउँजस्तै लाग्यो र मैले गाउँ नै लेखें । वडाध्यक्ष कृष्णबहादुर प्रजा (चेपाङ)सँग चेपाङ जातिको जनसंख्या, बसोबास स्थल, चिउरी, मह, वडाका नागरिकको शैक्षिक, स्वास्थ्य तथा आर्थिकस्तरका बारेमा व्यापक छलफल गरियो । कृष्णले आफूहरु चेपाङ नै रहेको तर, २०३४ सालतिर तत्कालीन राजा वीरेन्द्रको पालामा चेपाङहरुलाई प्रजा लेख्न लगाइएको कुरा खुलाए ।
चितवनमा करिव ३६ हजार जनसंख्या चेपाङकै छ । मकवानपुरमा कबिव २३ हजार, धादिङमा करिब १७ र गोरखामा करिव ४ हजार गरी २०७८ सालको जनगणना अनुसार ८४ हजार ३६४ जना रहेको उनले बताए । आफ्नो वडामा मात्र ४ हजार जनसंख्या रहेको र चेपाङकै बाहुल्यता रहेको खुलाए । उनले दुईपटक चुनाव जितेर वडाध्यक्षको कर्म पूरा गरिहेका छन् ।
त्यहाँबाट हामी उनीसँग बिदा भएर सन्देश र अर्जुनको भट्भटेमा गाउँतिर उकालो लाग्यौं । कच्चीबाटोमा उनीहरुका मोटरसाइकिलले कालो धूँवा वायुमण्डलमा मिसायो । केहीबेरको उकालोपछि सन्देशको जन्मगाउँ मझबाङ्ग पुगियो । सन्देशले आफ्नी ७२ वर्षीया आमासँग हाम्रो परिचय गराइदिए । आमाले गाउँमै बाख्रा,कुखुरा पालेर जिन्दगी गुजारेकी रहेछिन् । एकघर एकधारा रहेछ गाउँमा । गाउँमै स्वाथ्य एकाइ केन्द्र रहेछ । गाउँमै प्राथमिक तहसम्म पढाइ हुने स्कुल रहेछ । पाखोबारीमा फापर, कोदो र जुनेलो झुल्दैथिए स्कुसहरुले स्वागत गरेको भान भो । केराहरु कुप्रो परेर फल्दै थिए ।
मनीषले गाउँलाई कभर हुने गरी ड्रोन उडाए । सन्देशले स्थानीय वन उपभोक्ताहरुसँग चिउरी, चमेरोका बारेमा छलफल गरे । स्थानीय केही महिलाहरुले चिउरीको फूल लागेपनि फल लाग्न नसकेको दुखेसो सुनाए । चिउरी नै जीवन रहेको बताए । अचेल चमेरा मार्न छाडेको कुरा बताइरहँदा कोरोना सार्ने जीव नै चमेरो भएकाले आफूहरुले चमेरो मारेर खान समेत छाडेको सुनाए । खासकुरा चमेराले चिउरीको परागसेचनमा महत्वपूर्ण भूमिका खेल्दोरहेछ । चमेराहरु मारेर खाँदै गर्दा सायद चिउरीको परागसेचनमा ठूलो असर पुगेको हुन सक्ने सन्देशको तर्क थियो । त्यसैले चमेरा मार्ने चेपाङलगायत कसैलाई कडा कानूनी कार्वाही गर्न सावउसले नियम बनाएको बताए ।
गाउँलेहरुसँग चेपाङ भाषामा सन्देशले आफ्ना विचारहरु सुनाए । उनीहरुले चिउरीको नयाँ वेर्ना आवश्यक रहेको बताए । आफूहरुलाई जसरी नि बाँच्ने आधार दिनुपर्नेमा गाउँलेहरुको जोड थियो ।
कुराकानी समापनपछि गाउँबाट ओरालो लागियो र सन्देशको घरमा खाना खायौं । खाना र आवासको पैसा मनीषले तिर्न खोज्दा सन्देशले लिन मरिगए मानेनन् । पाहुनासँग पैसा लिन हुन्न भनेर सन्देश र उनकी श्रीमती टक्टकिए । हामी मोटर चढेर शक्तिखोर बजार( पहिला माओवादी क्यान्टोन्मेन्ट रहेको ठाउँ भनेर चिनिने) हुँदै डिभिजन वन कार्यालय आएर केहीबेर आराम गरियो । थाकेको शरीरलाई कफीको चुस्कीले स्पूmर्ति दियो र कलाकार चिरन बरालसँग भेट्न भरतपुर महानगरपालिका वडा नम्बर ७ को मध्यबिन्दू टोलको प्रेमबस्तीमा पुग्यौं ।
उनीसँग जीवनयात्राका बारेमा लामै छलफल गयौं । उनकी जहानले खाजा,चिया पिलाइन् । कुराकानी र चियापानीपछि हामी क्यान्सर अस्पतालको बुद्धचोक नजिकै अक्बरे रेष्टुरेण्टमा आकास अर्यालसँग खाजा खायौं । क्यान्सर पीडितहरुलाई उनी र उनका तीनजना साथीहरुले विहान तीन घण्टा निःशुल्क अटोसेवा दिइरहेका छन् । त्यहाँबाट छुट्टिएर हामी डिभिजन वन कार्यालयमा बास बस्न आइपुग्यौं । खाना खाएर डिएफओ साहेबसँग जीवन र जगतका बारेमा अन्तरंग कुराकानी गर्यौं । थाहा आन्दोलनका प्रणेता रुदानेको विचारका बारेमा बहस गर्यौं । उनीहरु दुबैजना मकवानपुरका भएका कारण कुरा र प्रसंगको पट्री जमेको हुनुपर्छ । सुत्दा घडीले ११ः३० बजाइसकेको थियो ।
बिहीबार बिहानै ७ बजेतिर हामीले आकाशलाई भेट्न चौबीसकोठी पुग्यौं । उनीसँग फ्रि अटोसेवाका बारेमा लामै कुरा गर्यौं । २७ वर्षे लक्का जवान आकासले थालेको अटो सेवाले धेरै क्यान्सरपीडित र उनका आफन्तहरुलाई सान्त्वनामुखी सहयोग मिलेको छ । उनमा देखिएको सेवाभाव अत्यन्तै प्रशंसनीय लाग्यो । आकाशसँग बिदा भएर हामी चतुर्मुखी सावउसले सञ्चालन गरेको गडुवा मचान र भीमबलीले सञ्चालन गरेको होमस्टे हेर्न पुग्यौं । त्यसपछि हामीहरु नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठकमा सहभागी भयौं । देशभरका करिब तीन दर्जन साथीहरु बैठकमा आइपुगेका थिए । महासंघका करिब एक दर्जन एजेण्डामा छलफल भए । सबै सहभागीहरुले सान्दार रुपमा सार्थक सहभागिता जनाए । भीमबली थारु होमस्टेमा गास र बासको प्रबन्ध भो । हामी केही साथीहरुले गडुवाको मचानमा रात बितायौं । राती उठेर तालका छेउमा जीवजनावर पानी खान आउँछन् कि भनेर हेरें तर, देख्ने अवसर मिलेन ।
बिहान नउठ्दै चराका संगीतले हामीहरुका आँखा खुले । सुन्दर मानवनिर्मित ताललाई साक्षी राखेर फोटो खिच्यौं । फलामबाट निर्मित मचानको स्वाद लियौं । सफा कोठा, एटेच ट्वाइलेट, बाथरुमको व्यवस्था र पर्यापर्यटनका लागि बनाइएको मचानले राम्रै आम्दानी गर्न सक्ने अनुमान लगायौं । हामीलाई चतुर्मुखी सावउसका अध्यक्ष हरि कुमार गुरुङले आफ्नो सावउस र मचानका बारेमा लामै कुरा सुनाए ।
डिभिजन वन कार्यालय, चितवनको संयोजन, नेपाल उद्यान महासंघको सहकार्य र बरण्डाभार क्षेत्रमा रहेका वन समूहहरुको व्यवस्थापनमा नवजागृति सावउसको खुल्ला हलमा सञ्चालित पर्यापर्यटनका बारेमा छलफल तथा अन्तरक्रियामा मैले पनि उद्यान महासंघको केन्द्रीय उपाध्यक्षको हैसियले संस्थागत एवम् उद्यानसम्बन्धि अभिमुखीकरण विषयमा प्रिजेन्टेसन गरें । पाँचवटा विषयहरुमा प्रिजेन्टेसन भए । उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुंइटेललगायत स्थानीयहरुले प्रस्तुत प्रिजेन्टेसनका बारेमा पृष्ठपोषण र प्रतिक्रिया दिए । बाग्मती प्रदेशका कृषि, पशुपंक्षी, वन तथा वातावरणमन्त्री रमा आलेमगर र चिनवन जिल्ला समन्वय समितिका प्रमुखको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
गजबको कुरा त, न कसैले कार्यक्रममा अध्यक्षताग्रहण गरे, न कोही भए प्रमुख अतिथि । न कोही विशिष्ट र अन्य अतिथि समेत । लामो आसनग्रहणबाट मुक्त कार्यक्रमले मनै रमायो । समयको वचत भयो । कार्यक्रम प्रभावकारी भयो । उक्त कार्यक्रमको संयोजन गर्ने डिएफओ विष्णुप्रसाद आयार्य र उद्यान महासंघका केन्द्रीय सदस्य नारायण बहादुर कार्कीप्रति सबै नतस्तक छौं । तोकिएकै समय मध्यान्ह १२ वजे कार्यक्रम सकिएको थियो । वातावरणविद् वसन्त रानासँग उनका कर्मका बारेमा कुरा गरिसकेपछि नारायणघाट छोडेका थियौं ।
फर्किदै गर्दा कावासोतीमा पशुप्राविधिक दिलमाया श्रेष्ठ र उद्यम विकास सहजकर्ता दुमन्ती थापासँग चियापानी र कुरानी गर्यौं । बर्दघाटको चिसापानीमा दया दर्लामीसँग तिहार पर्व, देउसीभैलो र डकुमेन्ट्रीका बारेमा खाजा खाँदै छलफल गर्यौं । त्यतिबेला मनीषले सीमसार क्षेत्रमा चलिरहेका डुंगाहरुको सुन्दर तस्वीर खिचेका थिए । पश्चिमतिर घामले र यता मनीष अनि मैले बिदा मागेर हिड्यौं । बुटवल आइपुग्दा झमक्कै साँझ परेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
