२०८३, कार्तिक २९ गते

Nov 15 2026 | २०८३, कार्तिक २९ गते

भैरहवामा चारजना स्रष्टा सम्मानित

आइतवार , कार्तिक २९, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • भैरहवा, २९ कार्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीको अवसरमा शुक्रबार रुपन्देहीको भैरहवामा चारजना स्रष्टा सम्मानित भएका छन् ।

    सिद्धार्थ साहित्य परिषद्, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा समारोह गरी देवकोटाको जन्मजयन्ती मनाइएको हो ।
    कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जनक स्मृति सिद्धार्थ साहित्य पुरस्कारबाट प्रकाशलाल श्रेष्ठ, मीन पद्म गौचन स्मृति पुरस्कारबाट रुपन्देही एफएममा कार्यरत अग्रज पत्रकार रामेश्वर भट्ट, लक्ष्मी गुरुङ स्मृति साहित्य सेवा पुरस्कारबाट डा. लक्ष्मी पोखरेल तथा सिद्धार्थ साहित्य सम्मान–२०८३ बाट सीता भट्टराई सम्मानित हुनुभएको छ ।

    मूल्यांकन समितिका संयोजक तथा परिषद्का सल्लाहकार भरत कुमार पोखरेलले विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्रष्टाहरूलाई छनोट गरी सम्मानका लागि सिफारिस गरिएको बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रा.डा. हिरण्यलाल ज्ञवालीले महाकवि देवकोटाका साहित्यिक कृति तथा नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले सिद्धार्थ साहित्य परिषद् पुरानो साहित्यिक संस्था भएको उल्लेख गर्दै रुपन्देहीको साहित्यिक गतिविधिलाई निरन्तर उजागर गर्दै आएको बताउनुभयो ।

    त्यसै गरी प्रा.डा. कपिल लामिछानेले महाकवि देवकोटाको जीवनी र उहाँको जीवनबाट सिक्नुपर्ने विषयबारे प्रकाश पार्नुभयो ।

    कार्यक्रममा कृष्ण प्रसाद बस्यालले सम्मानित स्रष्टाहरूको परिचय गराउनुभएको थियो । सो अवसरमा प्राज्ञ बूँद राना, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख मोतीलाल सुवेदी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका भूपेन्द्र सुवेदी, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष विष्णु गजुरेल, शहीद स्मृति पुस्तकालयका अध्यक्ष गोपाल अर्याल तथा कमल पोखरेल ‘निश्चल’ लगायतले मन्तव्य राख्नुभएको थियो ।

    साहित्यकार तथा परिषद्का सल्लाहकार रुद्र ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन परिषद्का सचिव लक्ष्मीनाथ अधिकारीले गर्नुभएको थियो ।