२०८३, कार्तिक २१ गते

Nov 07 2026 | २०८३, कार्तिक २१ गते

होस्टल व्यवसायी संघले देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा खर्चिने

शनिवार , कार्तिक २१, २०८३

  • 4
    Shares
  • 4
    Shares
  • काठमाडौं, २१ कार्तिक । होस्टल व्यवसायी संघ, नेपालले देउसीभैलो कार्यक्रमबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने भएको छ । संघको भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम संस्थागत गतिविधिसँगै विभिन्न मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाएको हो ।

    भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गणेश श्रेष्ठले संकलित रकमबाट आगामी दिनमा विभिन्न परोपकारी, समाजसेवी तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । संस्थाको कार्यालय सञ्चालन र संस्थागत हितसँगै सामाजिक सेवामा समेत रकम परिचालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष किरण शर्माले होस्टल व्यवसायीहरूको हकहित, एकता र व्यवसायको सुरक्षाका लागि संघ निरन्तर क्रियाशील रहेको बताउनुभयो । देउसीभैलो जस्ता साँस्कृतिक पर्वले संस्थागत गतिविधि विस्तार गर्नुका साथै व्यवसायीहरूबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले होस्टल व्यवसायीका व्यक्तिगत समस्यासँगै राष्ट्रस्तरमा यस व्यवसायको हकहित र पहिचान स्थापित गर्न संघले निरन्तर पहल गरिरहेको बताउनुभयो । दर्ता, नवीकरण, कर तथा घरभाडालगायतका समस्याबारे सम्बन्धित सरकारी निकायसँग संवाद र खबरदारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

    हालै देखिएको ग्यास अभावका बेला पनि व्यवसायीहरूको सेवा प्रभावित हुन नदिन तत्काल पहल गरी ग्यास आपूर्तिमा समन्वय गरिएको उहाँले बताउनुभयो । संघ आश्वासन दिने संस्था मात्र नभई समस्या पर्दा व्यवसायीको साथमा उभिने साझा अभिभावक भएको उल्लेख गर्दै उहाँले होस्टल व्यवसायलाई राज्यले उचित पहिचान र सम्मान दिनुपर्नेमा जोड दिनुभयो । ‘होस्टल व्यवसायीहरू केवल व्यवसायी मात्र होइनन्, हजारौं विद्यार्थीको बसोबास, सुरक्षा र भविष्यसँग जोडिएका जिम्मेवार सेवाप्रदायक हुन् । त्यसैले राज्यले पनि उचित सम्मान र पहिचान दिनुपर्छ’, उहाँले भन्नुभयो ।
    त्यस्तै, संघका पूर्व केन्द्रीय अध्यक्ष सुनिल भेटवालले संस्थाको स्थापनाकालदेखिको संघर्ष र हालसम्म प्राप्त उपलब्धिबारे चर्चा गर्दै व्यवसायीहरू व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व र संस्थागत हितप्रति पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

    देशभर करिब ८७५ जना व्यवसायी आबद्ध रहेको संघको कार्यक्रममा विभिन्न जिल्लाबाट आएका होस्टल व्यवसायीहरूको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष चेतन दाहाल, पूर्व अध्यक्ष रेवतीकुमार खड्कालगायत संघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको उपस्थिति थियो ।
    संघका केन्द्रीय महासचिव देवराज कँडेलले संघका गतिविधि, संस्थागत उद्देश्य तथा व्यवसायीहरूको हकहितका विषयमा प्रकाश पार्नुभयो । देउसीभैलो जस्ता कार्यक्रमले व्यवसायीहरूबीच एकता, सहकार्य र सद्भाव कायम राख्दै संस्थालाई थप सशक्त बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा गायक कृष्ण बम मल्लले सांगीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको सञ्चालन भक्तपुर जिल्ला कार्यसमितिकी सचिव मीना महतले गर्नुभएको थियो ।

    होस्टल व्यवसायी संघले यसअघि पनि विपद् व्यवस्थापन, राहत वितरण तथा विभिन्न सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा सक्रिय सहभागीता जनाउँदै आएको जनाएको छ । यसपटक देउसी–भैलोबाट संकलित रकमसमेत समाजका उपयोगी तथा परोपकारी कार्यमा खर्च गर्ने संघको प्रतिबद्धता छ ।