२०८३, कार्तिक १६ गते

Nov 02 2026 | २०८३, कार्तिक १६ गते

एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन : खुश्बु ओली

सोमवार , कार्तिक १६, २०८३

  • 154
    Shares
  • 154
    Shares
  • काठमाडौं, १६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । 

    सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताउनु भयो । एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उहाँले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ ।

    एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार  हुँदैन । यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौँ, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको  पुनर्गठनमा नै जानुपर्नेछ ।’

    उहाँले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताउनु भयो ।