२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

कुञ्ज पार्कमा म्युजिकल वाटर फाउण्टेन उद्घाटन, पर्यटन प्रवर्द्धनमा जोड

मंगलवार , कार्तिक १०, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • भैरहवा, १० कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित कुञ्ज पार्कमा म्युजिकल वाटर फाउण्टेन सञ्चालनमा ल्याइएको  छ । सोमबार एक समारोहबीच नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले फाउण्टेनको उद्घाटन गर्नुभएको हो ।

    कुञ्ज पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले म्युजिकल वाटर फाउण्टेन निर्माण गरिएको वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताउनुभयो । उहाँका अनुसार फाउण्टेनले तिलोत्तमा नगरपालिकासँगै कुञ्जलापुर क्षेत्रको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । निर्माणाधीन तथा सञ्चालनको तयारीमा रहेको नाइट पार्कसँगै संगीतको तालमा पानीका फोहरा सञ्चालन हुने व्यवस्था मिलाउँदा यस क्षेत्रको आकर्षण थप बढ्ने उहाँले बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख खाणले कुञ्ज पार्कसँगै तिलोत्तमाका अन्य पर्यटकीय क्षेत्रलाई समेत जोडेर पर्यटन विकास गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो । उहाँले वनबाटिका, बाउन्नकोटी र जमुहानी पार्कलगायतका पर्यटकीय स्थललाई एकीकृत रूपमा प्रवद्र्धन गरी पर्यटकलाई तिलोत्तमाका विभिन्न गन्तव्यको भ्रमण गर्न आकर्षित गर्ने उद्देश्यले पूर्वाधारमा लगानी गरिएको उल्लेख गर्नुभयो ।

    नगर उपप्रमुख चौधरीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुञ्ज पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कुञ्ज पार्कप्रति पर्यटकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै नगरपालिकाले प्राथमिकताका आधारमा बजेट विनियोजन गरी पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै आएको बताउनुभयो । पर्यटन क्षेत्रमा गरिने लगानीले समृद्ध तिलोत्तमा निर्माणमा योगदान पुर्याउने उहाँको विश्वास थियो ।

    फाउण्टेन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनीले १ करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेको जनाइएको छ ।
    फाउण्टेन निर्माणपछि पार्कमा पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यसबाट स्थानीय क्षेत्रको पहिचान विस्तार हुनुका साथै आर्थिक गतिविधिसमेत बढ्ने विश्वास गरिएको वडाअध्यक्ष पाठकले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, वडा अध्यक्ष पाठक, कुञ्ज पार्कका लोक पुन, नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीलगायतले बोल्नुभएको थियो ।