सोमवार , कार्तिक ९, २०८३
भैरहवा, ९ कार्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो स्थापना दिवस (चार्टर डे) को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानवसेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई एक दिनको भोजन सेवा प्रदान गर्नुका साथै दुईथान ह्विलचेयर सहयोग गरेको छ ।
मानव सेवा, करुणा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदै आयोजना गरिको कार्यक्रममा २१ जना रोटरियन तथा पाँचजना रोट्रयाक्ट सदस्यले स्वयंसेवकका रूपमा सहभागी भइ आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण गरेको क्लबले जनाएको छ । शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले दुईथान ह्वीलचेयरसमेत आश्रमलाई हस्तान्तरण गरिएको क्लबका सचिव उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा मानवसेवा आश्रमलाई कुल ५५ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ ।
कार्यक्रममा रोटरीका असाइनड असिस्टेन्ट गभर्नर (एजी) रोटरियन नुमलाल पौडेलले मानवसेवा आश्रममा चार्टर डे मनाउने क्लबको कार्यको प्रशंसा गर्नुभयो । रोटरीको मूल मन्त्र ‘आफूभन्दा माथि सेवा’ लाई व्यवहारमा उतार्दै असहाय, बेसहारा तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सेवामा समर्पित हुनु नै रोटरीको वास्तविक पहिचान भएको उहाँले बताउनुभयो । यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सेवाभाव र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उहाँको भनाइ थियो ।
क्लबका अध्यक्ष गंगाधर भण्डारीले मानवसेवा आश्रमले घरबारविहीन, असहाय तथा बेसहारा व्यक्तिहरूलाई आश्रय, संरक्षण र सेवा प्रदान गर्दै मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । समाजका असहाय व्यक्तिहरूको सेवामा समर्पित संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभयो । संस्थाको स्थापना दिवस मनाउने अवसर मात्र नभइ स्थापनाकालदेखि आत्मसात् गर्दै आएको सेवाभावलाई व्यवहारमा उतार्ने अवसरसमेत भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार विभिन्न सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरीयन कमल कार्की र राम थापाको जन्मदिनसमेत सामूहिक रूपमा मनाइएको थियो । दुवैका परिवारका सदस्यहरूको उपस्थितिमा व्यक्तिगत खुसीलाई सामाजिक सेवा र परोपकारसँग जोडिएको थियो । जन्मदिनको अवसरमा मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूको सेवा गर्न पाउनु विशेष र अविस्मरणीय रहेको भन्दै दुवै रोटरीयनले क्लबका अध्यक्ष तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो ।
क्लबका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य जीवन अर्यालले क्लबले स्थापनाकालदेखि नै सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासका क्षेत्रमा योगदान दिँदै आएको बताउनुभयो । चार्टर डेलाई मानव सेवासँग जोडेर मनाउनु क्लबको सेवामुखी पहिचानको उत्कृष्ट उदाहरण भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष हिरा बहादुर शाह, अध्यक्ष निर्वाचित तेजराज पाण्डे, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रुद्रराज सिग्देल तथा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष अस्मिता घिमिरेलगायत रोटरी तथा रोट्रयाक्ट सदस्यहरूको सहभागीता थियो ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले संस्थाको स्थापना दिवस, जन्मदिनको खुसी र मानवीय सेवालाई एकैसाथ जोड्दै कार्यक्रमलाई अर्थपूर्ण बनाएको जनाएको छ । कार्यक्रमले असहाय तथा बेसहारा व्यक्तिहरूप्रति सम्मान, करुणा र सहयोगको भावना अभिवृद्धि गर्नुका साथै सामूहिक प्रयासबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सन्देश दिएको क्लबको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij