२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

गैडहवाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हातमा जग्गाधनी पूर्जा

शनिवार , कार्तिक १, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ३१ असोज । रुपन्देहीको गैडहवा गाउँपालिकाका १६ घरपरिवारले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) प्राप्त गरेका छन् । शुक्रबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ८ का ९ र वडा नम्बर ९ का ७ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

    जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिकाको समन्वय र सहकार्यमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

    कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले लामो समयदेखि भूमिहीनका रूपमा जीवनयापन गर्दै आएका नागरिकले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको भन्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले लालपूर्जा प्राप्त गर्ने परिवारलाई बधाई दिँदै यस कार्यमा सहयोग गर्ने गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो ।

    उहाँले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै स्थानीय तहले कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार रुपन्देहीमा हालसम्म १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति गठन भएपछि स्थानीय तहलाई लाभग्राहीको पहिचान र प्रमाणीकरण गरी विवरण पठाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले जिल्लाका विभिन्न स्थानीय तहमा पहिचान, प्रमाणीकरण तथा अन्य आवश्यक प्रक्रिया अघि बढिरहेको बताउनुभयो । विशेष गरी कञ्चन गाउँपालिका, सैनामैना, देवदह नगरपालिका र बुटवल उपमहानगरपालिकामा प्राथमिकताका साथ काम भइरहेको उहाँको भनाइ थियो ।

    लालपूर्जा वितरणको काम निर्धारित समयभित्र सम्पन्न गर्न स्थानीय तहको सक्रियता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । अर्यालले नापजाँचका लागि प्राविधिक जनशक्ति परिचालन लगायतका काम आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।

    गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने कार्यका निम्ति गाउँपालिकाले चार वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । प्रत्येक वर्ष एक करोड रुपैयाँका दरले बजेट छुट्याएर यो कामलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

    स्थानीय सरकारले सडक निर्माणलगायत अन्य पूर्वाधारमा खर्च गर्न सक्ने बजेट भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काममा लगाइएको उल्लेख गर्दै पौड्यालले यस अभियानमा खटिने जनप्रतिनिधि, कर्मचारी तथा नापी कार्यालयका कर्मचारीलाई धन्यवाद दिनुभयो ।

    उहाँले बाँकी लाभग्राहीलाई पनि लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको बताउँदै गाउँपालिकाले यसलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

    नापी कार्यालय, रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मुसहर दलित समुदायका परिवारलाई लालपूर्जा वितरण गर्न सफल हुनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । उहाँले यस प्रक्रियामा गाउँपालिकाले सहयोग र समन्वय गरेको उल्लेख गर्दै भूमिहीनको समस्या समाधानमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

    sddd.JPG

    गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क. थारुले लामो समयको प्रतीक्षापछि लालपूर्जा प्राप्त हुँदा नागरिकको खुसी थपिएको बताउनुभयो । चाडपर्वको समयमा लालपूर्जा प्राप्त हुनु लाभग्राही परिवारका लागि थप खुसीको विषय बनेको उहाँको भनाइ थियो ।

    गैडहवा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भुवन रानाले सुकुम्बासी समस्या समाधानका लागि विगतमा विभिन्न आयोग गठन भए पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तन, आयोग विघटन लगायतकाकारणले अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो । उहाँले लालपूर्जा वितरणलाई राजनीतिक आश्वासनमा सीमित नगरी वास्तविक लाभग्राहीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    लालपूर्जा प्राप्त गर्नुभएकी गैडहवा गाउँपालिका–८ की सोनमती मुसहरले जग्गाधनी प्रमाणपूर्जा पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अझै लालपूर्जा प्राप्त गर्न नसकेका परिवारले पनि चाँडै पाऊन् भन्ने कामना गर्दै यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।