बुधवार , आश्विन २१, २०८३
काठमाडौँ, २१ असोज । पश्चिम अफ्रिकी देशहरूको आर्थिक समुदाय (इकोवास) अन्तर्गतको अदालत (कम्युनिटी कोर्ट अफ जस्टिस) मा पाँच नयाँ न्यायाधीशहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अबुजामा अवस्थित मुख्यालयमा आयोजित विशेष समारोहका बीच उनीहरूले चारवर्षे गैर–नवीकरणीय कार्यकालका लागि पदभार सम्हालेका हुन् ।
शपथ ग्रहण समारोहमा इकोवासका अध्यक्ष तथा सेनेगलका राष्ट्रपति बासिरु डिओमे फेले नवनियुक्त न्यायाधीशहरूलाई बधाई दिँदै आफ्नो कर्तव्य इमानदारी र निष्पक्षताका साथ पूरा गर्न आग्रह गरेका छन् । क्षेत्रीय राजनीति, अर्थतन्त्र, सुरक्षा र वातावरणीय चुनौतीहरूले भरिएको वर्तमान समयमा न्यायिक संस्थाको भूमिका महत्वपूर्ण रहने भन्दै उनले कुनैपनि वाह्य दबाबबाट मुक्त रहेर न्याय सम्पादन गर्न निर्देशन दिए ।
उनले अदालतको प्रतिष्ठा न्यायाधीशहरूको निर्णयको गुणस्तर र उनीहरूले आर्जन गर्ने जनविश्वासमा निर्भर रहने बताए । इकोवास आयोगका अध्यक्ष बिराम डियोपले यस अवसरमा बोल्दै नवनियुक्त न्यायाधीशहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुदायिक कानुनको सेवा गर्न आह्वान गरे । उनले इकोवास अब केवल राज्यहरूको मात्र नभएर आम नागरिकको पहुँचयोग्य संस्था बनेको उल्लेख गर्दै यसले क्षेत्रीय एकीकरणमा महत्वपूर्ण अर्थ राख्ने बताए ।
नवनियुक्त न्यायाधीशहरूमा बेनिनका डेसिर हेनरी आइहोउ, द गाम्बियाका आबा बाह, लाइबेरियाका चार्लिन एम. ब्रम्सकाइन, नाइजेरियाका हेनरिएटा उजोअमाका डिडिगु र टोगोका याउजा ओउरो–सामा रहेका छन् । इकोवासको ६९ औँ साधारण अधिवेशनले उनीहरूलाई चयन गरेको हो । कम्तीमा २० वर्षको व्यावसायिक अनुभव भएका कानुनविद्हरूलाई मात्र यस पदका लागि योग्य मानिन्छ । नयाँ कार्यकाल शुरु भएसँगै न्यायाधीशहरूले आन्तरिक रूपमा दुई वर्षका लागि अध्यक्ष र उपाध्यक्षको चयन गर्नेछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij