मंगलवार , आश्विन २०, २०८३
भैरहवा, २० असोज । नेपाली काँग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । वडा, पालिका हुँदै प्रदेश र संघीय क्षेत्रको निर्वाचन सकेर केन्द्रिय महाधिवेशन अगाडि बढेको छ ।
काठमाडौंमा जारी महाधिवेशन अन्र्तगत निर्वाचनको कार्यक्रम चलिरहदा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ मा भने केन्द्रमा भएको सहमति कार्यान्वयन नभएको भन्दै एउटा पक्षले असन्तुष्टि जनाएको छ ।
काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनुभएका नेता आशुतोष मिश्रलगायतका नेता–कार्यकर्ता र अष्टभुजा पाठक लगायतका नेता–कार्यकर्ताबीच मिलेर अगाडि बढ्ने विषयमा सहमति भए पनि सहमति कार्यान्वयन हुन नसकेको स्थानीय नेताहरुको भनाइ छ ।
विभिन्न पद तथा जिम्मेवारी बाँडफाँटबारे भएको सहमति कार्यान्वयन नभएको भन्दै सम्बन्धित पक्षका प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । सहमति कार्यान्वयन गरी अघि बढ्ने निर्णय भए पनि व्यवहारमा त्यसअनुसार काम नभएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
उपलब्ध निर्णय तथा हस्ताक्षरित कागजातमा सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको र त्यसअनुसार निर्णयसमेत गरिएको छ । तर, निर्णयमा उल्लेख गरिएका विषय कार्यान्वयन नभएपछि पुनः असन्तुष्टि बढेको छ ।
रुपन्देही–४ का युवा नेता दिलसाद खानले केन्द्रमा भएको सहमतिको धज्जी उडाउँदै अष्टभुजा पाठक लगायतले एउटा पक्ष सहमति कार्यान्वयनको पक्षमा जुट्दै गर्दा अर्को पक्षले सहमति उल्लंघन गरेर प्रतिनिधि छनौट गरेको बताउनुभयो।
काठमाडौंमा काँग्रेस महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको बैठकले विभिन्न पद तथा जिम्मेवारीमा प्रतिनिधि तथा पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । बैठकमा सहभागीहरूले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न पदमा जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।
‘बैठकबाट केन्द्रीय प्रतिनिधि, पदाधिकारी तथा विभिन्न समावेशी समूहअन्तर्गतका प्रतिनिधिहरू चयन गर्ने भनिएको थियो, नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले भन्नुभयो-‘यसरी कार्यान्वयनको खिल्ली उडाउँदै सहमतिलाई कागजको खोस्टो बनाएर प्रतिनिध छनौट गरिएको छ, यसले पार्टीलाई कहाँ पुर्याउँला ?’
बैठक तथा छलफलबाट सहमति जुटाउने, त्यसलाई लिखित रूपमा राख्ने र कार्यान्वयन गर्ने अभ्यास भए पनि निर्णय कार्यान्वयन नभएपछि सहमतिको औचित्यमाथि नै प्रश्न उठेको नेता मिश्रले जानकारी दिनुभयो । उहाँले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा सहमति र निर्णयलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो । फागुनमा भएको संघप्य प्रतिनिधि सभा सदस्य निर्वाचनमा असहयोग गरेका र पार्टी हितविपरीत काम गरेकाहरुले रुपन्देही–४ मा अहिले एकलौटी रुपमा पार्टी गतिविधि सञ्चालन गर्न उहाँको भनाइ छ ।
सहमतिका आधारमा अघि बढ्ने वातावरण बनिसकेपछि त्यसलाई कार्यान्वयन नगर्दा विश्वासको संकट पैदा हुने उहाँको भनाइ छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij