२०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?

मंगलवार , आश्विन २०, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौँ, २० असोज । राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ ।

    नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो । संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू सीमा बढाइएको छ । 

    संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकलाई तोकिएको प्रक्रियाा पूरा गरी बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक अमेरिकी डलर ३० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसअघि यो सुविधा १५ हजार डलरसम्मको थियो ।

    अब दूरसञ्चारसम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीहरुले विदेशी सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तोकिएको कागजात लिई भाडाबापत वार्षिक अमेरिकी डलर ५ लाखसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयंले गर्न सक्नेछन् । यसअघि १ लाख डलरसम्मको सीमा थियो ।

    त्यस्तै अब नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा आवश्यक कागजातहरु लिई प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ ।

    प्रतिपटक अमेरिकी डलर ३० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीका लागि नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक अमेरिकी डलर ८ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीका लागिसमेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि क्रमशः १५ हजार डलर र ८ हजार डलरको सीमा थियो ।

    प्रतिपटक अमेरिकी डलर ३० हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नुपर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ । यसअघि १५ हजार डलरसम्मको सीमा थियो ।

    नेपालमा विधिवत दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी संघ वा संस्था वा कम्पनी आदिले भारतस्थित संघ वा संस्था वा कम्पनीसँग विविध सेवा सुविधा लिने सम्झौता तथा सहमतिबमोजिमको प्रतिपटक भारतीय रुपैयाँ ६० लाखसम्मको भुक्तानी वाणिज्य बैंकहरुबाट आवश्यक कागजातहरुका अतिरिक्त भुक्तानी गर्नुपर्ने रकमका लागि सम्बन्धित नियामक निकायबाट सम्झौता तथा सहमति स्वीकृत वा सटही सिफारिस भएको पत्र लिई सटही सुविधा प्रदान गर्न सकिनेछ ।

    प्रतिपटक भारतीय रुपैयाँ ६० लाखभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा सोभन्दा कम रकममा समेत विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नुपर्नेछ । यसअघि ४० लाख भारतीय रुपैयाँसम्मको सीमा थियो ।

    अब कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रासमेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ । यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्थासमेत गर्नुपर्नेछ ।

    कार्डको मौज्दात अमेरिकी डलर १० हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ । यसअघि ५ हजार डलरसममको सीमा रहेको थियो ।

    संशोधित व्यवस्थाअनुसार अब नेपाली वायुसेवा कम्पनीहरुले हवाई जहाजका इन्जिन वा पार्टपुर्जाजस्ता सामान आयात गर्दा सम्बन्धित नियमनकारी निकाय (नेपाल नागरिक उडड्यन प्राधिकरण)को सिफारिससमेतका कागजातका आधारमा प्रचलित व्यवस्थाअन्तर्गत रही अमेरिकी डलर ५ लाखसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्था स्वयमले पठाउन सक्नेछन् । तर यस प्रयोजनको लागिविदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछैन ।