२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

रुपन्देही–५ बाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा सुष्मिता ढुंगानाको उम्मेदवारी

बुधवार , आश्विन १४, २०८३

  • 352
    Shares
  • 352
    Shares
  • रुपन्देही, १४ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ बाट युवा महिलातर्फ महाधिवेशन प्रतिनिधि पदमा सुष्मिता ढुंगानाले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।

    ३० वर्षीया ढुंगाना उद्यमी तथा बैंकिङ क्षेत्रको अध्ययन र कार्यअनुभव भएकी युवा हुनुहुन्छ । उहाँले राजनीति आफ्नो लागि पद प्राप्त गर्ने माध्यम नभइ समाज र संगठनप्रतिको जिम्मेवारी भएको बताउनुभएको छ ।

    ढुंगानाले बैंकिङ क्षेत्रको अध्ययन तथा कार्यअनुभवबाट आर्थिक अनुशासन, व्यवस्थापन र संस्थागत नेतृत्वको अनुभव हासिल गरेको बताउनुभयो । त्यसपछि आफ्नै शैक्षिक कन्सल्टेन्सी स्थापना गरी उद्यमशीलताको यात्रामा अघि बढेको उल्लेख गर्नुभएको छ ।

    उहाँका अनुसार शैक्षिक कन्सल्टेन्सीलाई व्यक्तिगत व्यवसायका रूपमा मात्र नभइ युवालाई शिक्षा, अवसर र भविष्य निर्माणसँग जोड्ने माध्यमका रूपमा विकास गर्ने प्रयास गरिएको छ ।

    सामाजिक क्षेत्रमा समेत सक्रिय ढुंगानाले लायन्स क्लबमा सदस्य तथा पूर्व कोषाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । विभिन्न सामाजिक संस्थामार्फत समुदायसँग जोडिएर काम गर्ने अवसर पाएको उहाँको भनाइ छ ।
    ‘नेतृत्व भनेको अगाडि उभिनु मात्र होइन, अरूलाई पनि अगाडि बढ्ने अवसर दिनु हो,’ ढुंगानाले भन्नुभयो ।

    महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी नयाँ पुस्ताको आवाज, विचार र जिम्मेवारीलाई पार्टीको निर्णय प्रक्रियासँग जोड्ने प्रयास भएको उहाँले बताउनुभयो । युवालाई राजनीतिको भविष्य भनेर मात्र सम्बोधन नगरी अहिलेको निर्णय प्रक्रियामै अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नुपर्ने उहाँको धारणा छ । 

    त्यसै गरी महिलालाई केवल उपस्थितिको संख्या नबनाई निर्णय गर्ने तहमा पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
    अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको उर्जा र नयाँ सोचलाई जोडेर नेपाली काँग्रेसलाई अझ संगठित, उत्तरदायी र जनमुखी बनाउन योगदान दिनुपर्ने उहाँको भनाइ छ ।

    ढुंगानाले आफ्नो राजनीतिक विश्वासका रूपमा ‘व्यक्तिभन्दा विचार, गुटभन्दा संगठन, स्वार्थभन्दा जिम्मेवारी, नाराभन्दा परिणाम र पदभन्दा सेवा’ लाई अघि सार्नुभएको छ । उहाँले युवा नेतृत्वको विकास र अर्थपूर्ण सहभागीता, महिलाको नेतृत्व क्षमता र समान अवसर, शिक्षा, सीप, रोजगारी तथा उद्यमशीलता, युवालाई आत्मनिर्भर बनाउने अवसरको विस्तार, संगठनमा पारदर्शीता तथा जवाफदेहीता र समाजसँग जोडिएको जनमुखी राजनीतिलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।

    रुपन्देही क्षेत्र नम्बर ५ का आवाज र आवश्यकतालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउँदै ढुंगानाले आफ्नो उम्मेदवारी कुनै व्यक्तिलाई विस्थापित गर्न नभइ नयाँ पुस्ताको सहभागीता विस्तार गर्नका लागि बताउनुभयो । ‘राजनीतिमा नयाँ अनुहार मात्र होइन, नयाँ कार्यशैली पनि आवश्यक छ,’ उहाँले भन्नुभयो–‘मेरो उम्मेदवारी नयाँ पुस्ताको सम्भावना, महिला नेतृत्वको आकांक्षा र जिम्मेवार राजनीतिक संस्कारको आवाज हो ।’

    शिक्षाबाट ज्ञान, बैंकिङ क्षेत्रबाट अनुभव, उद्यमशीलताबाट आत्मविश्वास र राजनीतिबाट जिम्मेवारी सिक्दै अघि बढेको उहाँले उल्लेख गर्नुभयो । ढुंगानाले अब यही अनुभवलाई संगठन र समाजको हितमा प्रयोग गर्ने आफ्नो संकल्प रहेको बताउनुभयो । उहाँले आफ्नो अमूल्य मत प्रदान गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुमा आग्रह गर्नुभएको छ ।