२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

सोमवार , आश्विन १२, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • दाङ, १२ असोज । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र का अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    विपद्का कारण प्रदेशभर १ हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । १६ वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् ।

    केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचजनाको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति भएका छन् भने एकसय घर जोखिममा रहेका छन् ।

    डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । ७० घर जोखिममा रहेको विवरणमा उल्लेख छ ।

    त्यस्तै हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

    जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका छन् । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । 

    मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँचजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एकजनाको मृत्यु भएको छ ।

    विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७ सय जना प्रभावित भएका छन् । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

    विपद्का कारण प्रदेशभर अनुमानित ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा ५ लाख ६० हजार, बर्दियामा ५ लाख ५७ हजार क्षति भएको छ ।

    विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । ६ वटा गोठ पूर्ण र चारवटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशु चौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुम पूर्वमा १÷१ वटा पुलमा क्षति पुगेको छ ।

    त्यस्तै दाङ, रुकुम पूर्व र रूपन्देहीमा १÷१ वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुम पूर्व र रूपन्देहीमा एक्एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पीईओसीले जनाएको छ । पाल्पामा दुईवटा सवारीसाधनमा समेत क्षति भएको छ ।