२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

१८ करोडको खानेपानी आयोजना, स्वच्छ खानेपानी पाउनेमा स्थानीय आशावादी

बिहिवार , आश्विन ८, २०८३

  • 121
    Shares
  • 121
    Shares
  • पश्चिम नवलपरासी, ८ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ र १८ का बासिन्दालाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले अमरौट–धरमपुर खानेपानी आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । १८ करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण हुन लागेको यस आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ।

    आयोजना कार्यान्वयनका लागि रामग्राम नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवल र मिलिजुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिबिच सम्झौता भएको हो । लामो समयको निरन्तर प्रयास र पहलपछि यो महत्वपूर्ण आयोजना निर्माणको चरणमा पुगेको हो ।  

    रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालका अनुसार आयोजना निर्माणको सम्झौता भएसँगै अब कार्यान्वयनको प्रक्रिया तीव्र पारिनेछ । उपभोक्ता समिति र सम्बन्धित प्राविधिक टोलीसँग समन्वय गरी निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गराउन नगरपालिकाको प्रशासनिक संयन्त्र पूर्ण रूपमा परिचालन हुनेछ । यसबाट स्थानीयस्तरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित हुनेछ ।’

    नगरप्रमुख धनपत यादवका अनुसार रामग्रामका वडा नम्बर १४ र १८ का बासिन्दालाई वर्षोंदेखि रहँदै आएको खानेपानीको समस्याबाट मुक्ति दिलाउन यो आयोजना कोसेढुंगा साबित हुनेछ । स्थानीय बासिन्दालाई घर–घरमै स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने हाम्रो प्रतिबद्धता पूरा हुने दिशामा यो ठूलो सफलता हो । आयोजनालाई तोकिएकै समयमा उच्च गुणस्तरका साथ सम्पन्न गराउन नगरपालिकाले पूर्ण सहयोग र सहजीकरण गर्नेछ, ’उहाँले भन्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयका अनुसार स्थानीय तह, विषयगत कार्यालय र उपभोक्ता समितिको लागत साझेदारीमा सञ्चालन हुन लागेको यो आयोजना सार्वजनिक–सहभागीताको एक उत्कृष्ट उदाहरण हो । योजनाको प्रशासनिक, प्राविधिक र वित्तीय पारदर्शीता कायम राख्दै निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन हामी प्रतिबद्ध छौं । तोकिएको मापदण्डअनुसार काम सम्पन्न गराउन नियमित अनुगमन गरिनेछ, ’उहाँले भन्नुभयो ।

    आयोजना सम्पन्न भएसँगै यस क्षेत्रका हजारौं बासिन्दा स्वच्छ र सुरक्षित खानेपानीको पहुँचमा पुग्ने विश्वास लिइएको छ ।