सोमवार , आश्विन ५, २०८३
लुम्बिनी, ५ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘चिनियाँ भाषा तथा भोट बौद्ध अध्ययन कार्यक्रम’अन्तर्गत विभिन्न तहमा अध्ययनरत ३१ जना विद्यार्थीहरू चीनको हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीमा एकवर्षे विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रमका लागि चीनतर्फ प्रस्थान गरेका छन् ।
यस विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रमका लागि ३१ जना विद्यार्थीहरू चयन भएका थिए । तीमध्ये भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थीमध्ये ९ जना लामाहरू र १ जना आनी तथा बौद्ध अध्ययनमा रूची भएका तर, चिनियाँ भाषा अध्ययन कार्यक्रममा अध्ययनरत २१ जना नियमित विद्यार्थीहरू अध्ययनका लागि चीनतर्फ प्रस्थान गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटमा नेपालतर्फका निर्देशक डा. रामचन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत यी विद्यार्थीहरूमा उच्च स्तरको चिनियाँ भाषिक दक्षता रहेको जानकारी दिनुभयो । चीनमा हुने अध्ययन कार्यक्रममा चयन भएका लुम्बिनी बौद्ध विश्वविद्यालयमा नियमित तवरमा अध्ययनरत यी २१ विद्यार्थीहरूले चिनियाँ भाषा दक्षता परीक्षाको तेस्रो तह (HSK–३) उत्तीर्ण गरेको र अध्ययन कार्यक्रममा चयन भएका १० जना लामा तथा आनीहरूले चिनियाँ भाषाको दोस्रो तहको परीक्षा उत्तीर्ण गरेको चाइनिज लर्निङ एण्ड टेस्टिङ सेण्टरकी निर्देशक याङ स्याले जानकारी दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत यी विद्यार्थीहरूले अध्ययन–आदानप्रदानका अवधिमा चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा आफ्नो नियमित विषय अध्ययनसँग सम्बन्धित विषयहरू अध्ययन गर्नेछन् । लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटकी चीन पक्षकी निर्देशक प्रा. डा. काओ रुईले यसबाट विश्वविद्यालयका विद्यार्थीहरूले चीनको बृहत्तर संस्कृति बुझ्ने र नेपाल चीनबीचको अन्तर सांस्कृतिक संवाद क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काका अनुसार यो विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयबाट चीनको नानहाई बौद्ध एकेडेमीमा विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रमका लागि पठाइएको चौथो समूह हो । डा. खड्काका अनुसार विगत तीन वर्षमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूको संख्या १०० नाघिसकेको छ । विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रमअन्तर्गत चीनमा अध्ययनका लागि पुगेका लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क शिक्षणको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागी हुनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि नानहाई बौद्ध एकेडेमीले निःशुल्क रूपमा आवास तथा भोजनको व्यवस्था मिलाइएको छ ।
काठमाडौं उपत्यकाबाहिर एकमात्र कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ भाषा सिकाइ तथा परीक्षा केन्द्र लुम्बिनी बौद्ध विश्वविद्यालमा सञ्चालनमा छ । हाल लुम्बिनी बौद्ध विश्वविद्यालका विभिन्न कार्यक्रममा २५० भन्दा बढी चिनियाँ विद्यार्थी अध्ययनरत छन् । यसले लुम्बिनी बौद्ध विश्वविद्याल परिसरमा चिनियाँ भाषा सिकाइका लागि अनुकूल भाषिक वातावरण निर्माण गरेको छ भने यो विश्वविद्याल नेपाली विद्यार्थीहरूका लागि मात्र नभए दक्षिण एसियामा नै चिनियाँ भाषा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा पनि विकसित हुँदैछ ।
विगत ३ बर्षको नियमिततासँगै यस शैक्षिक सत्रमा पनि लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एच्छिक चिनियाँ भाषा’ विषयमा अन्तर्राष्ट्रिय अध्ययन तथा विद्यार्थी आदानप्रदानका अवसरहरूसहित स्नातक तह अध्ययन कार्यक्रममा भर्ना खुलेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्र काफ्लेले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न विषयमा अध्ययन सकाएका अधिकांश विद्यार्थीहरू सेप्टेम्बरको पहिलो सातामा नै पूर्ण छात्रवृत्तिसहित चिनियाँ भाषा, स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तह अध्ययनका लागि चीन प्रस्थान गरिसकेको बताउनुभयो ।
विश्वविद्यालका कूलपति मणिकरत्न शाक्यले बौद्ध धर्मावलम्बीको मुख्य आस्थाको केन्द्रका रूपमा रहेको लुम्बिनी क्षेत्रमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि भइरहेको बताउनुभयो । चिनियाँ भाषामा पोख्त अनुवादक पथप्रदर्शक जनशक्तिको अभाव रहेका सन्दर्भमा लुम्बिनी बौद्ध विश्वविद्यालयले नानहाई बौद्ध एकेडेमी तथा चीनका अन्य विश्वविद्यालय एवं शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ गर्दै चिनियाँ भाषा शिक्षा र चीन अध्ययनलाई निरन्तर प्रवद्र्धन गरेर यस क्षेत्रको पर्यटन प्रवर्धनमा आवश्यक जनशक्ति तयार गर्नमा सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
डा. कुमार खड्काका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालले विद्यार्थी आदान–प्रदान तथा अध्ययन कार्यक्रममार्फत् चीनमा अध्ययनका लागि विद्यार्थी पठाउनुमा चिनियाँ भाषा तथा अन्तरसांस्कृतिक संवादमा दक्ष जनशक्ति तयार गरी नेपाल–चीनबीचको जनस्तरीय तथा सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij