२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

मगर महिला संघको स्थापना दिवस : सशक्तिकरण र नेतृत्व विकासमा जोड

शनिवार , आश्विन ३, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • बुटवल, ३ असोज । नेपाल मगर महिला संघ, केन्द्रीय समितिले आफ्नो २९ औं स्थापना दिवस रुपन्देहीको बुटवलमा विभिन्न कार्यक्रमका साथ मनाएको छ । सो अवसरमा नेपाल मगर संघको केन्द्रीय उपाध्यक्ष सीता राना मगरले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेकाले राज्यका हरेक निकाय र नीति निर्माण तहमा मगर महिलाहरूको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिनुभयो । 

    मगर समुदायको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँले गौरवपूर्ण इतिहास निर्माणमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

    कार्यक्रममा बोल्दै संघको केन्द्रीय सदस्य सुनु थापा मगर, लुम्बिनी प्रदेश अध्यक्ष खुलप्रसाद पुन मगर र युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगरले मगर महिलाको अधिकार, पहिचान, क्षमता विकास र आत्मनिर्भरताका लागि गाउँदेखि केन्द्रसम्म सशक्त अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । 

    त्यस्तै बौद्ध समाजका केन्द्रीय अध्यक्ष शंकर गाहा मगर र मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रामकुमार बुढा मगरले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्न तथा उच्च शिक्षा र सीपमार्फत महिला नेतृत्व विकास गर्न सहकार्यको आवश्यकता औंल्याउनुभयो । 

    नेपाल मगर महिला संघ रुपन्देहीकी अध्यक्ष निर्मला थापा मगरले जिल्लामा भाषा, साहित्य र कलाको प्रवद्र्धनका लागि ‘मगर साहित्य महोत्सव’ आयोजना गरिँदै आएको जानकारी दिनुभयो । आगामी दिनमा महिलालाई आत्मनिर्भर र शिक्षित बनाउने कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । 

    समारोहमा लेखक संघकी उपाध्यक्ष इरादा झाक्री मगर, प्रदेश अध्यक्ष केशरी तरामु मगर, जिल्ला सचिव राधिका श्रीस मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संघको केन्द्रीय अध्यक्ष चित्रा छन्त्याल श्रीस मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुमति बुढा मगरले स्वागत मन्तव्य र महासचिव चन्दा पुन मगरले सञ्चालन गर्नुभएको थियो ।