२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

शनिबार बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी, भीम रावलले सम्बोधन गर्ने

शुक्रवार , आश्विन २, २०८३

  • 160
    Shares
  • 160
    Shares
  • बुटवल, २ असोज । संविधान दिवसका दिन शनिबार रुपन्देहीको बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा वामपन्थी दलहरुको भूमिका विषयक विचार गोष्ठी हुने भएको छ । 

    गोष्ठीलाई वैचारिक तथा देशभक्ति एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सम्बोधन गर्नुहुनेछ । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवल योगिकुटीस्थित सिद्धार्थ कटेजमा लुम्बिनी प्रदेशस्तरीय विचार गोष्ठी हुनेछ । 

    उक्त गोष्ठीको भीम रावल प्रमुख वक्ता हुनुहुन्छ भने नेकपाका नेता चक्रपाणी खनाल, नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य कृष्ण पौडेल, वाम बुद्धिजिवि घनश्याम पाठक, पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले सम्बोधन गर्नुहुनेछ ।

    ४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा फेरिएको राजनैतिक परिदृश्यमा वामपन्थी एकता र लोकतान्त्रिक शक्तिबीचको सहकार्य गराउने उद्देश्यले देशैभर विचार गोष्ठी गरिएको पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले बताउनुभयो ।

    मुलुकमा प्रतिक्रान्तिमा अगाडि बढिरहेको बेला कम्यूनिष्ट जोडने अभियान स्वरूप लुम्बिनीमा शनिबार कार्यक्रम गर्न लागिएको खतिवडाले जानकारी दिनुभयो । कम्यूनिष्टहरू एकजुट नभए देश दीर्घकालिन संकटमा जान सक्ने भएकाले देशव्यापी रूपमा कार्यक्रम गरेको उहाँको भनाइ छ । यसअघि पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर बाग्मती प्रदेशबाट यो अभियानको सुरुवात गरेको थियोे ।

    बाग्मतीमा नेकपाका संयोजक प्रचण्डले सम्बोधन गर्नुभएको थियो । त्यसै गरी कर्णाली प्रदेशको सुर्खेतमा देव गुरूङ, सुदुरपश्चिमको धनगढीमा भएको कार्यक्रmमा नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशको जनकपुरमा भएको कार्यक्रममा नेकपा सह–संयोजक माधव कुमार नेपाल, कोशी प्रदेशको इटहरीमा भएको कार्यक्रममा राजेन्द्र प्रसाद पाण्डे र गण्डकीको पोखरामा भएको कार्यक्रमलाई एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमले वैचारिक रुपमा कम्यूनिष्ट पार्टी र लोकतान्त्रिक शक्तिलाई जोड्न आयोजना गरिएकाले इच्छुकहरुलाई सहभागी हुन नेकपा लुम्बिनीका संयोजक अब्दुल हुसेनले आग्रह गर्नुभयो । उहाँका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि बुटवलको योगिकुटीस्थित सिद्धार्थ कटेजमा हुनेछ ।