२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

प्रतिमान–निमा स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि १ लाख ७५ हजार सहयोग

शुक्रवार , आश्विन २, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ । 

    विपद्को यस कठिन घडीमा पीडित परिवारहरुमा राहत तथा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ७५ हजार ५ सय ५३ रुपैयाँ जम्मा गरिएको प्रतिष्ठानको अध्यक्ष विजया केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार प्रतिष्ठानका संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारी, साधारण सदस्य, कार्यरत कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको संयुक्त प्रयासबाट उक्त रकम संकलन भएको थियो । ‘संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगस्वरुप प्रदान गरिएको हो, ’उहाँले भन्नुभयो ।

    भोटेकोशी बाढी–पहिरो पीडितका लागि राहत संकलन अभियानमा सहयोग गर्नुहुने सबैमा उहाँले आभार समेत व्यक्त गर्नुभयो । नेपालको भोटेकोशी क्षेत्रमा हालै आएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गहिरो दुःख व्यक्त गरेको छ ।

    कोभिड–१९ को समयमा महामारी न्यूनीकरण गर्ने योगदान पुर्याउने उद्देश्यले प्रतिष्ठानले क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाउनका लागि आफ्नो भवन प्रयोग गर्न दिएको थियो । साथै सातवटै प्रदेशमा प्रतिष्ठानले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

    image.png

    वि.सं. २०६० सालमा स्थापना भएको प्रतिमान–निमा स्मृति प्रतिष्ठानले सामाजिक रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रसँगै समुदायमा आधारित क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।