शुक्रवार , आश्विन २, २०८३
भैरहवा । सरकार स्थिर भए पनि मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ। उद्योग–व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दै आएका निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्ना सुझावहरु अझै कार्यान्वयन हुन नसकेको बताएका छन् । उनीहरुले उद्योगी तथा व्यवसायिप्रति सरकारका पछिल्ला अभिव्यक्ति तथा कदमले सरकारप्रतिको भरोसा कमजोर हुँदै गएको बिश्लेषण गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ स्थापना दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्ने उद्योगी–व्यवसायीहरूले आर्थिक गतिविधि विस्तारका लागि राजनीतिक स्थायित्वसँगै स्पष्ट नीति, नीतिको कार्यान्वयन र सरकार–निजी क्षेत्रबीचको प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रका समस्या र सुझावबारे प्रधानमन्त्री तथा मन्त्रीहरू जानकार भए पनि कार्यान्वयन गर्ने बिषयमा भने बेवास्ता गर्ने गरेको बताउनु भयो । उहाँका अनुसार उद्योगी तथा व्यवसायसँग सम्बन्धित नीति, नियम र विनियमावली निर्माण तथा संशोधन गर्दा निजी क्षेत्रसँग छलफल हुने गरे पनि प्राप्त सुझावलाई व्यवहारमा लागू गर्ने विषयमा सरकार उदासीन देखिएको छ । ‘प्रधानमन्त्री र मन्त्रीहरूले हाम्रा कुरा सुन्नुहुन्छ, तर कार्यान्वयन गर्ने बेलामा निजी क्षेत्रले उठाएका विषयलाई कुनै मतलब गर्नुहुन्न,’ वैद्यले भन्नुभयो ।
महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले उद्योग–व्यवसायको अवस्था क्रमशः कमजोर बन्दै गएको गुनासो गर्नु भएको छ । व्यवसाय सुस्ताउँदै जाँदा कतिपय व्यवसायी पलायनको अवस्थामा पुगेको उहाँको भनाइ छ ।
‘उद्योग–व्यवसायमा यो अवस्था आउनु अहिलेको सरकार मात्र नभई वर्षौंदेखिका सरकार र समाजबाट गरिएको उपेक्षाको परिणाम हो,’ अग्रवालले भन्नुभयो, दुई तिहाईको सरकारले उद्योगी व्यवसायिका समस्या समाधान गर्न तप्पर हुनु पर्दछ ।’
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले वर्तमान सरकारबाट निजी क्षेत्रले आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरे पनि त्यसअनुसारको वातावरण बन्न नसकेको बताउनु भयो । उहाँले औद्योगिक तथा व्यावसायिक क्षेत्रको अवस्था यही रूपमा अघि बढे आगामी डेढदेखि दुई वर्षमा धेरै व्यवसायी गम्भीर आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिनुभयो ।
पञ्चकन्या समूहका उपाध्यक्ष तथा उद्योगी ध्रुवकुमार श्रेष्ठले सरकार र निजी क्षेत्रबीच सहकार्यबिना औद्योगिक वातावरण सुधार सम्भव नहुने बताउनुभयो । निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत सुधारसँगै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।
यता, पर्यटन व्यवसायीहरूले पनि सरकारी नीतिका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको बताएका छन् । होटेल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकारले अवलम्बन गरेका नीतिमाथि पुनर्विचार आवश्यक रहेको बताउनुभयो ।
भैरहवा क्षेत्रलाई भने उद्योग, व्यापार तथा पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा व्यवसायीहरूले प्रस्तुत गरेका छन् । लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले हवाई तथा सडक पूर्वाधारका कारण भैरहवा र आसपासमा लगानीको ठूलो सम्भावना रहेको बताउनु भयो । पूर्वाधारको उपयोग गर्दै लगानीको वातावरण बनाउन सके भैरहवालाई आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रबन्ध निर्देशक तथा स्वास्थ्य व्यवसायी खुमाप्रसाद अर्यालले भैरहवामा पछिल्लो समय पूर्वाधारका क्षेत्रमा उल्लेख्य परिवर्तन आएको बताउनु भयो ।
कार्यक्रममा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्यले विपद्का बेला राहत तथा उद्धारमा निजी क्षेत्रले ठुलो सहयोग गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आर्चायले उद्योग सञ्चालनको लागत, बजारको सुस्तता, लगानीको वातावरण र नीतिगत अस्पष्टताजस्ता विषयले निजी क्षेत्रलाई दबाबमा पारेका बताउनुभयो । यस्तो अवस्थामा नयाँ लगानी आकर्षित गर्नुका साथै सञ्चालनमा रहेका उद्योग–व्यवसायलाई टिकाइराख्न पनि सरकारको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाई छ ।
स्थापना दिवसको अबसरमा संघका पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij