शनिवार , भाद्र २०, २०८३
बाबाआमा खेतबारीकै काममा व्यस्त भएपछि पुन्टेको हेरविचार कसले पो गरोस् । उसका रुवाइ सुन्न पनि नसक्नेहरुले मागको सम्बोधन कसरी सम्भव रहोस् । जीवनका यात्रामा कसैकसैका लागि गरिबी त महाप्रलय हुँदोरहेछ । जे गरे पनि, जसो गरे पनि जिन्दगीको यात्रामा सफलता हात नलागेपछि मरिचजस्तै खुम्चिनुको पीडा कसले, कसलाई सुनाउन लायक हुुँदोरहेछ र ?
पुन्टेका बाबाआमाका दुःख पनि कर्णालीभन्दा लामा र कोशीभन्दा नि गहिरा थिए । मकै लगायो बाँदरले सत्यानाश । धान लगायो, पानी नपरेर हैरान ! अनि धमिराको राज । भैंसी पाल्यो, तुहिने । आँप पाक्यो भन्नेबेला कुहिने ! वर्खामास्, घरभित्र कटौरा र थाल थाप्नुपर्ने । गाईको ढाड, गोठ बाहिरै । यसो पनि नाइँ, उसो पनि नाइँ !
पुन्टेका बाबाआमाले अन्तर्जातीय भागी बिहे गरेका हुन् । न माइतले बोलाए उसकी आमालाई न घरले स्वीकार गर्यो पुन्टेको बाबालाई । अस्वीकार र पीडाबीच हुर्किएको अभावको टुसा हो पुन्टे । न रिस छ, न राग छ ऊसँग । बरु उसँग सानै उमेरमा अभाव छ । पाँच वर्षको पुन्टेलाई जीवनको प्रारम्भिक यात्रामा नै अभावका पाइला टेक्नुपर्ने बाध्यता खोइ कसरी आइलाग्यो ?
ग्रामीण जीवन, परिवेश सुन्दर भए पनि अभावले जिन्दगी कुरुप बनाउँदो रहेछ । पुन्टेका बाबाआमाका आङ्मा लुगाका धरा देख्दा बरु मन्दिरमा टाँगिएका धजा सग्ला लाग्छन् ! बाबाको टोपीले आकाश चियाएको दृश्य हेर्न आँटै आउँदैन । आमाको पटुकी र खुट्टाका पैतालामा परेका चिरा उस्तैउस्तै लाग्छन् । बैंशमै बुढाबुढी देखिन्छन् । सायद, प्रेमको पटुकीले बाँधिएपछि लुगाको पटुकी त निख्लो लाग्दोरहेछ । निरस लाग्दोरहेछ ।
पुन्टेको खास नाम पूर्णबहादुर हो । तर, उसको परिवार सबैकुरामा अपूर्ण देखिन्थ्यो । हुन त पूर्ण, को पो हुन्छ र ? पूर्णतातिर उन्मुख हुने न हो । तैपनि पूर्णबहादुरको परिवार यति अभावमा, दुःखमा बाँच्नुको विकल्प किन खोज्दैन होला ? कर्मलाई खोटो देखाएर हो कि, भूगोलमा भावना नभेटेर हो कि, प्रेममा प्रभाव नखोजेर हो कि ? तरपनि पुन्टे उर्फ पूर्णबहादुरलाई पूर्ण देखिन समय लाग्न सक्ला ।
गाउँ नजिकै स्कूल भएर होला वा अभावले हो पुन्टेको खुट्टामा जुत्ता थिएनन् । हरेकपटक हाजिरी गर्ने मीसले पुन्टेलाई जुत्ता लगाएर आउन निर्देशन दिन्थिन् । नमान्दा पकाएर अनुरोध गर्थिन् । पुस्तक बोक्ने झोलाले भूइँतिर आँ गरेको थियो । विद्यालय पोशाक पनि नधोएर त होला काती परेको । लेख्नलाई पुराना कापी र ठूटा पेन्सिल पूर्णबहादुरको सहारा बन्थे । तैपनि स्कूल आउने जाने उसको दैनिकी थियो । उसका लागि टिफिन बन्थेन कहिल्यै । हातमा दुई रुप्पेको नोट नै दिउँसोको खाजा हुन्थ्यो । हुन त पूर्णबहादुरले जुत्ताका लागि आफ्ना आमाबाबालाई पचासौंपटक बिन्ती गर्यो होला, तथापि हात लाग्यो शून्य ! मागेको जुत्ता नपाएपछि माग्नै छाडेको व्यथा पूर्णको नयाँ रहेन ।
शुक्रवारको दिन, हाफ् छुट्टीमा बिदा हुने दिन । रमाइलो गर्ने दिन । पढाईभन्दा पनि सरसफाई, स्कूल लिपपोत गर्ने दिन । साँस्कृतिक कार्यक्रम गर्ने, हाजिरीजवाफ, कविता सुनाउने दिन । त्यसै रमाइलो शुक्रवार । झोलामा आधा किताब लैजान परेपछि बोकाई कम, खुसी बढी हुने दिन । एक्कासी नाँच्दै गर्दा पुन्टे, पल्टियो । स्कूलका सरहरुले गर्मी महिना भएर चक्कर लाग्यो होला भने, मीसहरुले कापीको पानालाई हाते पङ्खा बनाएर हम्किए । हतारहतार टाउकामा पानी छम्किए । तर, पनि पुन्टेको होस खुलेन । सबै आत्तिए । कार्यालय सहयोगी दाइ पुन्टेको परिवारलाई खबर गर्न उनकै घरतिर दौडिए ।
पुन्टेका बाबा खेतको डीलमा थिए । आमाचाहिं घरभित्र । कार्यालय सहयोगी दाइको सूचनाको भरमा पुन्टेका बाबाआमा स्कूल आइपुगे । त्यतिबेला पुन्टेले आफ्ना आमाबाबालाई होसबाट फर्केर पुर्लुक हेर्न भ्यायो । आमाले पुन्टेलाई अङ्गालिन् । पुन्टेका बाबालाई हेडसरले अस्पताल लैजान भने । उनीहरु पुन्टेलाई बोकेर अस्पतालको साटो घरतिर गए । घर पुगेपछि पुन्टेकी आमाले पुन्टेको मुखाँ मोहीको तुर्को चुहाइ दिइन् । तङ्ग्रेजस्तै भो । पुन्टेको निधार छामेर उसको बाबाले निको हुन्छ भनेर बिनापढाईको डाक्टर भए । लागो, मसान लागेको शंका गरे । भोलि शनिबार बिहानै लामाकहाँ भासेको भाले बोकेर जानेकुरा उसको बाबाले सुनाए ।
लामाले, खोलेमसान लागेको, पित्री नतरेको, अर्कोपटक पनि आउनुपर्ने पुन्टेको बाबाआमा र पुन्टेलाई सुनाए । बाबाआमाले हुन्छ भनिरहँदा पुन्टेले ह्वाल्ल छाद्यो । आमाले निधार छामिन् । बाबाले लामाको मन्त्रले काम गरेको सुनाएपछि पुन्टेलाई बोकेर आमा अघि लागिन् । पुन्टेका बाबा पछिपछि घरतर्फ लागे ।
घर आएपछि पुन्टे केहीछिन् आत्तियो । वाकवाक गर्यो । पेट बटार्यो । उसको बाबाले, लामाले निको पार्ने विश्वास प्रकट गरे । छिनभरमा पुनः छाद्यो र पुन्टे सुत्यो । आमाले वान्ता सोहर्न थालिन् । पुन्टेको बाबा आफ्नै खेतीकिसानीतिर लागे । हतारमा आमाले बिहानको खान पकाइन् । पुन्टेलाई खाने इच्छा नहुँदा नहुँदा लामाले फुकेको खरानीसँगै पानी र भात आमाले खुवाइन् । पुन्टेको बाबाले हात चुठेर आँटीतिर उक्लिए । आमाले पुन्टेलाई आराम गराएर भाँडाकुँडा माझिन् ।
भोलिपल्ट एक्कासी पुन्टे, अस्पतालको बेडमा उपचार गराउँदैको अवस्थामा भेटियो । उसको होस खुलेको थिएन । डाक्टरहरुले अनेक ल्याब परीक्षण गरे । पुन्टेको आन्द्रामा जुकाको अण्डा भेटे । सो देखिनुका कारण उसको नाङ्गो खुट्टा र त्यसमार्फत् अंकुशे जुका नै ठहराए । सिभिएर एनिमिया भएको निदान गरे । सोहीअनुसार उपचार चलिरहेको बताए । पुन्टेकी आमाले उसलाई हेरिरहँदा सास फेर्न गारो भएको ठानिन् । मुटुको धड्कन छिटोछिटो चलेको मानिन् । हेर्दा हेर्दै पुन्टे बेहोस भयो । नर्सहरुले आत्तिएर डाक्टर बोलाउन थाले । हतारहतारमा डाक्टर आइपुगे । आलाले पुन्टेको सबै चाला बुझे । डाक्टरले पुन्टेकी आमातिर हेरेर लामो सास ताने अनि सुस्तरी भने–सरि बचाउन सकिएन ।
पुन्टेको बाबाले डाक्टरको कुरा सुन्न पाएनन् । पुन्टेकी आमालाई डाक्टरको कुुराले आकाश खसेर थिचेजस्तै भयो । डाँको छोडेर रोइन् । पुन्टेको बाबाले काखामा समाएर पुन्टेलाई बाहिर निकाले ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij