शनिवार , भाद्र २०, २०८३
भैरहवा, २० भदौ । ६४ औं नेपाल रेडक्रस दिवसको अवसरमा रुपन्देहीको भैरहवामा जिल्लास्तरीय रनिङ्गकप वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा शुक्रबार प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा गणेश ज्ञान ज्योति पब्लिक हाई स्कूल सेमलारको विद्यार्थी आइमा रिजाल प्रथम, अक्सफोर्ड माध्यमिक विद्यालयको श्रेसा न्यौपाने द्वितीय, शान्ति नमुना मावि, मणिग्रामको सञ्जु न्यौपाने तृतीय र प्यारामाउण्ट माविका विद्यार्थी सत्यम खरेलले सान्त्वना स्थान हासिल गरेको निर्णायक मण्डलका संयोजक वनमाली निराकारले बताउनुभयो।
प्रतियोगितामा सहभागी १६ वटा पालिकाबाट १६ वटा विद्यालयका विद्यार्थीहरुले ‘मानवताका लागि ऐक्वद्धता शिर्षकमा भनाइ राखेका थिए ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रेडक्रसको महत्व सधै रहने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जाह्नवी पाण्डे, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कार्यबाहक अध्यक्ष दिलिप कुमार कान्दु, रेडक्रस रुपन्देहीको उपसभापति रुपमा हिराचन, उप–मन्त्री दिनेश पन्थी, सिद्धार्थनगर नगरपालिका शाखाका कार्यबाहक सभापति राकेश गुरुङ्गलगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij