२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

विपद्को अँध्यारोमा आशाको किरण बन्दै नेपाल प्रहरी

शनिवार , भाद्र २०, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, २० भदौ । भोटेकोशीमा आएको अकल्पनीय बाढीपछि उत्पन्न बहुआयामिक चुनौतीबीच नेपाल प्रहरीले उद्धार, खोजी, राहत, शव व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनलाई एकसाथ अघि बढाएको छ । सीमित साधनस्रोतका बाबजुद सूचना संकलन तथा विश्लेषण, उपलब्ध जनशक्ति र प्रविधिको अधिकतम प्रयोग गर्दै प्रहरीले विपद् प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको छ ।

    पछिल्लो तथ्यांकअनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन भएका छन् । बाढीप्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ ।

    कुकुर र ड्रोनबाट खोजी तीव्र

    सम्पर्कबिहीन नागरिकको खोजीका लागि नेपाल प्रहरीले विशेष टोलीसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरासमेत परिचालन गरेको छ । भौगोलिक रूपमा कठिन तथा भग्नावशेषमा पुग्न समस्या भएका स्थानमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई प्रभावकारी बनाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विशेष टोली परिचालन गरिएको छ । ‘उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुरूप विशेष टोलीहरू परिचालन गरिएको छ,’उहाँले भन्नुभयो ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरी २४ सै घण्टा अनुगमन भइरहेको छ । केन्द्रमा सम्पर्कबिहीन आफन्तको खोजी तथा उद्धारका लागि परिवारबाट आउने सूचनाका आधारमा सम्बन्धित प्रहरी युनिटलाई जानकारी गराउने गरिएको छ । हालसम्म उक्त केन्द्रमा आफन्तको खोजी तथा उद्धारका लागि १ हजार ३ सय ५१ पटक अनुरोध आएको प्रहरीले जनाएको छ । ड्रोनको प्रयोगबाट नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ । भग्नावशेष हटाउँदै जस्तापाता, काठ, डोरीलगायत सामग्रीको सहायताले प्रहरी टोली शव रहेको घरसम्म पुगेको थियो ।

    वैज्ञानिक विधिबाट शव व्यवस्थापन

    उद्धार तथा खोजी अभियानसँगै पहिचान हुन नसकेका शव तथा मानव अंगको व्यवस्थापनलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । फोरेन्सिक विशेषज्ञसहितको टोलीले घटनास्थल मुचुल्का, शव पहिचान तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिरहेको छ । शवलाई सुरक्षित रूपमा ‘डेड बडी ब्याग’ मा राख्ने, फोरेन्सिक परीक्षण गर्ने तथा पहिचानमा सहज होस् भनेर शवका तस्बिर र उपलब्ध विवरण सुरक्षित राख्ने व्यवस्था गरिएको छ ।

    शवको वैज्ञानिक पहिचानका लागि डीएनए नमुना संकलन गरी सुरक्षित राखिएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तबाट संकलित नमुनाका आधारमा डीएनए प्रोफाइलिङको कामसमेत गरिरहेको छ । विदेशी नागरिकको खोजी तथा पहिचानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित देशका दूतावास, कूटनीतिक नियोग तथा विदेशी संस्थासँग सूचना आदानप्रदानका लागि छुट्टै संयन्त्र स्थापना गरिएको छ ।

    अपराध नियन्त्रणमा समेत निगरानी

    विपद्का कारण विस्थापित नागरिकका खाली घरको सुरक्षा तथा विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले निगरानी बढाएको छ । उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मी व्यस्त रहेको अवस्थाको फाइदा उठाएर हुनसक्ने आपराधिक गतिविधि रोक्न नियमितभन्दा बढी गस्ती तथा निगरानी परिचालन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै राहत संकलनका नाममा हुन सक्ने ठगी तथा अन्य गैरकानुनी गतिविधिमाथि पनि प्रहरीले निगरानी गरिरहेको छ ।

    सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह तथा भ्रामक समाचार नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । विपद्का बेला गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा उद्धार तथा राहत कार्यमा अवरोध पु¥याउने गतिविधिमाथि कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

    स्वास्थ्य उपचारदेखि मनोसामाजिक परामर्शसम्म

    बाढीप्रभावित क्षेत्रमा उद्धार गरिएका तथा घाइते नागरिकको स्वास्थ्य उपचारमा पनि नेपाल प्रहरी सक्रिय छ । नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । बाढीबाट उत्पन्न मानसिक तनाव तथा त्रास कम गर्न स्वास्थ्य उपचारसँगै मनोचिकित्सकीय तथा मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका नागरिकलाई राहत वितरणका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिएको छ । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन भएका छन् । ती कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएका छन् ।

    महिला, बालबालिका र ज्येष्ठ नागरिकप्रति विशेष संवेदनशीलता

    विपद् प्रभावित क्षेत्रमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्रहरीले विशेष प्राथमिकता दिएको छ । महिला तथा बालबालिकाविरुद्ध हुन सक्ने दुव्र्यवहार, हिंसा तथा अन्य अप्रिय घटना रोक्न महिला प्रहरीसहित थप टोली परिचालन गरिएको छ । उनीहरूका समस्या तथा गुनासो सम्बोधनका साथै आवश्यक मनोपरामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण तथा मनोपरामर्शसमेत प्रदान गरिरहेको छ ।

    स्थानीय तह र अन्य निकायसँग सहकार्य

    बाढीका कारण हिलाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घर सफाइ र मर्मतसम्भार गरी पुनः प्रयोगमा ल्याउन प्रहरी स्थानीय तह तथा अन्य निकायसँग सहकार्य गरिरहेको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडकको अवस्थाबारे समयमै सूचना प्रवाह गर्नुका साथै वैकल्पिक मार्गबारे यात्रुलाई जानकारी दिने कामसमेत भइरहेको छ । अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने कार्यमा प्रहरी जुटेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

    नागरिकको दुःखमा प्रहरी

    बाढीप्रभावित क्षेत्रमा अझै ठूलो मात्रामा हिलो, पाँगो माटो र ढुंगा थुप्रिएका छन् । कतिपय स्थानमा पुनः बाढी आउन सक्ने जोखिमसमेत कायम छ । यस्तो जोखिमबीच पनि नेपाल प्रहरीले उद्धार, खोजी, शव व्यवस्थापन, राहत वितरण, विस्थापितको सुरक्षा र अपराध नियन्त्रणलाई समानान्तर रूपमा अघि बढाएको छ । आफ्नै सुरक्षाको जोखिम मोलेर पनि नागरिकको उद्धारमा खटिएका प्रहरी कर्मचारीले विपद्को समयमा राज्यको सुरक्षा संयन्त्रको उपस्थितिलाई थप अनुभूत गराउने प्रयास गरिरहेका छन् ।

    WhatsApp Image 2026-09-05 at 9.43.12 PM (1).jpeg

    उद्धारदेखि पुनःस्थापनासम्मका चुनौती थपिँदै गए पनि नागरिकको सुरक्षा र सेवामा आफ्नो कर्तव्यबाट विचलित नहुने प्रतिबद्धतासहित नेपाल प्रहरी प्रभावित क्षेत्रमा अहोरात्र खटिरहेको छ ।