२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

विपद्को आडमा अपराध बढ्न नदिन प्रहरीको विशेष सुरक्षा निगरानी

सोमवार , भाद्र १५, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, १५ भदौ । बाढी तथा पहिरोजस्ता विपद्का कारण उत्पन्न विषम परिस्थितिमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सुरक्षा निगरानी र परिचालनलाई थप प्रभावकारी बनाएको छ ।
    विपद्का समयमा सुरक्षाकर्मी खोज तथा उद्धारमा केन्द्रित हुने र प्रभावित क्षेत्रका नागरिक त्रास तथा असुरक्षाको अवस्थामा रहने भएकाले आपराधिक मनसाय भएका व्यक्तिले त्यसको फाइदा उठाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सूचना संकलन, निगरानी, गस्ती तथा सामाजिक सञ्जाल अनुगमनलाई तीव्र बनाएको हो ।

    रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी रकम चोरी गरेको आरोपमा प्रहरीले धादिङबाट २९ जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफभित्र रहेको नगद चोरी गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५ सय ५ नगद बरामद गरेको जनाएको छ ।

    त्यस्तै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको नाममा भ्रम सिर्जना गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन् । उनले बाढीप्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीले जनाएको छ ।

    त्यसै गरी बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१ लीला चोकका २५ वर्षीय मदन गुरुङसहित दुईजनालाई प्रहरीले भदौ ११ गते पक्राउ गरेको थियो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी थप संवेदनशील भएर परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार बाढीप्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा गर्नुका साथै चोरी, लुटपाट तथा राहत सहयोगका नाममा हुन सक्ने साइबर ठगी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । विपद्का नाममा हुन सक्ने साइबर स्क्यामबारे आम नागरिकलाई समेत प्रहरीले सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

    विपद्का कारण जोखिम बढेका स्थानबाट नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले खाली भएका घर तथा क्षेत्रमा चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई मध्यनजर गरी प्रहरीले गस्ती तथा निगरानीलाई थप तीव्र बनाएको छ।

    त्यस्तै सडक तथा पुल अवरुद्ध हुँदा उद्धार तथा राहत वितरणमा कठिनाइ भइरहेकाले अवरोध हटाउन नेपाल प्रहरीले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । घाइतेको उद्धार तथा विस्थापितलाई राहत वितरणमा कुनै त्रुटि हुन नदिनसमेत प्रहरी परिचालन गरिएको छ ।

    नेपाल प्रहरीले बाढीप्रभावित क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको वा हुन सक्नेबारे सूचना प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा जानकारी गराउन आग्रह गरेको छ । बाढीप्रभावित क्षेत्रमा भेटिएका नगद, बहुमूल्य वस्तु तथा अन्य सामान सुरक्षित राखी प्रहरीलाई बुझाउनसमेत प्रहरीले अनुरोध गरेको छ ।