सोमवार , भाद्र १५, २०८३
भैरहवा, १५ भदौ । प्रेस क्लब अफ महाराजगंज, उत्तरप्रदेश (भारत) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गरेको छ । क्लबले सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको हो ।
क्लबका अध्यक्ष अमित त्रिपाठी नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई सो रकम जम्मा गरेको बैंक भौचर बुझाएको हो ।
नेपालमा हालै आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको प्रेस क्लब अफ महाराजगंजका अध्यक्ष अमित त्रिपाठीले बताउनुभयो । साथै उहाँले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले प्रेस क्लब अफ महाराजगंजमा आबद्ध पत्रकारहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्नुभएको भन्दै आभार व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, भैरहवामा भएको भौचर हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीसहित नेपाल र भारतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij