२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा बाढीप्रभावितका लागि २ लाख ९३ हजार सहयोग

शनिवार , भाद्र १३, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १३ भदौ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि २ लाख ९३ हजार ६७ रुपैयाँ सहयोग गरेको छ ।

    रसुवा, नुवाकोट तथा त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि क्लबका सदस्यहरूले २ लाख ५५ हजार ६७ रुपैयाँ संकलन गरेका छन् ।

    संकलित रकममध्ये २ लाख १ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको  छ । बाँकी ५४ हजार ६७ रोटरी डिष्ट्रिक्ट ३२९२ को ‘डिजास्टर रिलिफ’ मार्फत प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि परिचालन गरिने क्लबले जनाएको छ ।

    त्यस्तै बाढीप्रभावित जाजरकोटका नागरिकको राहतका लागि क्लबले ३८ हजार रुपैयाँ सहयोग गर्ने भएको  छ । उक्त रकम क्लबको स्पोन्सर्ड क्लब रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सञ्चालन गरेको राहत अभियानमार्फत परिचालन गरिने छ।

    रोटरी क्लब सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले विपद्का समयमा पीडित समुदायको साथमा उभिनु रोटरीको सेवा भावनाको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘मानवीय पीडा सीमाना, भूगोल र संस्थाभन्दा माथि हुन्छ । संकटमा परेका नागरिकको आँसु पुछ्न सक्ने हरेक सहयोग हाम्रो सामूहिक जिम्मेवारी हो,’उहाँले भन्नुभयो।

    अध्यक्ष भण्डारीले विपद्का बेला आर्थिक सहयोगसँगै पीडितलाई आफूहरू उनीहरूको साथमा रहेको विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले यसअघि पनि महाभूकम्प, कोरोना लगायत विभिन्न विपद्का समयमा राहत तथा मानवीय सेवामा सक्रिय सहभागीता जनाउँदै आएको छ ।

    क्लबले आगामी दिनमा पनि सरकार, रोटरी डिष्ट्रिक्ट तथा स्थानीय समुदायसँग सहकार्य गर्दै राहतदेखि पुनस्र्थापनासम्मका मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ ।