२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

बाढीका कारण भएको जनधनको क्षतिप्रति जेएमसीद्वारा दुःख व्यक्त

बिहिवार , भाद्र ११, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं, ११ भदौ । चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ ।

    जागरणका अध्यक्ष कमला विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।

    बाढीका कारण स्थानीय नागरिकको जनजीवन प्रभावित हुनुका साथै सडक, पुल, विद्युत्, सञ्चार, घर तथा अन्य सार्वजनिक एवं निजी भौतिक संरचनामा क्षति पुगेको भन्दै जेएमसीले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

    विपद्का समयमा सबैभन्दा बढी जोखिममा रहने दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदायको सुरक्षा, उद्धार र राहतमा विशेष प्राथमिकता दिनुपर्ने जेएमसीको भनाइ छ । 

    विपद् व्यवस्थापनका सबै चरणमा सामाजिक समावेशिता, मानवअधिकार र समान पहुँच सुनिश्चित गर्न पनि उसले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

    जेएमसीले बाढीका कारण अवरुद्ध सडक तथा यातायात, विद्युत् र सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेको छ । साथै जोखिममा रहेका बस्तीको तत्काल प्राविधिक मूल्यांकन गरी थप क्षति हुन नदिन आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

    प्राकृतिक विपद्लाई उद्धार र राहतमा मात्र सीमित नगरी विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनको प्रभाव, सुरक्षित पूर्वाधार निर्माण, पूर्वसूचना प्रणाली तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिसँग जोडेर दीर्घकालीन योजना बनाउनुपर्ने जेएमसीको धारणा छ ।
    विशेष गरी हिमाली तथा नदी किनारका जोखिमयुक्त बस्तीको नियमित जोखिम मूल्याङ्कन गर्दै समुदायमा आधारित विपद् पूर्वतयारी प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उसले जनाएको छ ।

    बाढीबाट प्रभावित परिवारको वास्तविक क्षतिको निष्पक्ष मूल्याङ्कन गरी पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा प्रभावित समुदायको सहभागीता सुनिश्चित गर्न पनि जेएमसीले सरकारसँग आग्रह गरेको छ ।

    जेएमसीले विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा सामाजिक न्याय, समानता र समावेशितालाई केन्द्रमा राख्न सम्बन्धित सबै पक्षलाई अपील गरेको छ