बिहिवार , भाद्र ११, २०८३
बुटवल, ११ भदौ । रसुवा जिल्लाको भोटेकोशी नदी तथा आसपासका क्षेत्रमा आएको आकस्मिक भीषण बाढी र पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बर लुम्बिनी प्रदेशले विपद्को घडीमा उद्धार, राहत र पुनस्र्थापनाका लागि निजी क्षेत्र एकजुट हुन अपिल गरेको छ ।
चेम्बरले जारी गरेको प्रेस विज्ञप्तीमा बाढी तथा पहिरोका कारण मानव जीवनसँगै सडक, पुल, विद्युत् संरचना, बस्ती, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक एवं निजी पूर्वाधारमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरणले निजी क्षेत्रलाई समेत गम्भीर चिन्तित बनाएको उल्लेख गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेका भन्सार तथा सरकारी कार्यालय, सवारीसाधन, मालसामान र व्यवसायिक संरचनामा समेत क्षति पुगेको तथा कतिपय उद्योगी–व्यवसायी सम्पर्कबिहीन रहेको जानकारीप्रति चेम्बरले विशेष चिन्ता व्यक्त गरेको छ।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना र प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।
चेम्बरले यस्तो राष्ट्रिय संकटको समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको जनाएको छ । खोज तथा उद्धार, राहत, अस्थायी पुनर्वास, अत्यावश्यक वस्तुको आपूर्ति तथा पुनस्र्थापनाका कार्यमा राजनीतिक वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
प्रभावित नागरिकका लागि निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्दै चेम्बरले देशभरका उद्योगी, व्यवसायी तथा व्यापारीलाई खाद्यान्न, लत्ताकपडा, औषधि, अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग जुटाउने अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ । विपद्को समयमा गरिएको सानो सहयोगले समेत पीडित परिवारमा ठूलो आशा र साहस जगाउन सक्ने चेम्बरको भनाइ छ ।
राहत रकम नेपाल सरकारको आधिकारिक खातामार्फत जम्मा गर्न तथा राहत सामग्री उपलब्ध गराउन आग्रह गर्दै चेम्बरले राहत संकलन र वितरणलाई पारदर्शी, व्यवस्थित तथा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पीडितका नाममा राहत संकलन गरी हुन सक्ने दुरुपयोग रोक्न एकद्वार प्रणालीमार्फत राहत व्यवस्थापन गर्नुपर्ने चेम्बरको स्पष्ट धारणा छ ।
विपद्को समयमा राहत तथा उद्धारका नाममा हुने अनियमितता रोक्दै वास्तविक पीडितसम्म सहयोग पुर्याउन राज्यका सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्न चेम्बर तयार रहेको जनाएको छ ।
खोज तथा उद्धारदेखि राहत, पुनर्वास र पुनस्र्थापनासम्मका सम्पूर्ण मानवीय कार्यमा निजी क्षेत्रको ऐक्यबद्धता र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै चेम्बरले ‘पीडितका लागि निजी क्षेत्र एकजुट’ भन्ने भावनाका साथ सम्पूर्ण उद्योगी, व्यवसायी तथा व्यापारीलाई सहयोग र सहकार्यमा जुट्न अपिल गरेको छ ।
चेम्बर लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीद्वारा बिहीबार जारी विज्ञप्तीमा राष्ट्रिय विपद्को यस कठिन घडीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यलाई प्राथमिकतामा राख्दै पीडित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij