२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

बाढीप्रभावितका लागि रामग्राम नगरपालिका र बर्दघाटका पूर्वप्रमुख शर्माद्वारा आर्थिक सहयोग

बिहिवार , भाद्र ११, २०८३

  • 337
    Shares
  • 337
    Shares
  • पश्चिम नवलपरासी, ११ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले रसुवा हुँदै आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने गरी सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख धनपत यादवका अनुसार नगरपालिकाको आफ्नै विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरिनेछ । यस सहयोगले विपद्को यस घडीमा बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ  ।

    यता देशमा घटेको दुःखद प्राकृतिक प्रकोपको घटनाबाट प्रभावितहरूका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालले व्यक्तिगततर्फबाट २५ हजार नगद सहयोग गर्नुभएको छ । विपत्तिको यस कठिन घडीमा पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले उहाँले राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।

    स्थानीयस्तरमा विकास र सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका बस्यालको यो सहयोगले विपत्तिको समयमा राहत र उद्वारमा थप बल पुग्ने र अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास लिइएको छ ।