२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

‘दीर्घकालीन विपद् व्यवस्थापनको ठोस योजना निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ’

बिहिवार , भाद्र ११, २०८३

  • 634
    Shares
  • 634
    Shares
  • भैरहवा, ११ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ सञ्जाल, रुपन्देहीले गहिरो दुःख व्यक्त गरेको छ । सञ्जालले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै बाढीबाट सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मी बेपत्ता भएको र घर, बस्ती, सडक, पुल, विद्युत् तथा अन्य महत्वपूर्ण भौतिक संरचनामा गम्भीर क्षति पुगेको घटनाप्रति दुःखित भएको जनाएको छ ।

    सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीद्वारा जारी विज्ञप्तीमा विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी गरी सकुशल उद्वार गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग आग्रह गरिएको छ ।

    विज्ञप्तीमा रसुवाको विपद् केवल एउटा जिल्लाको समस्या नभइ राष्ट्रिय विपद्का रूपमा लिएर तत्काल उच्चस्तरीय समन्वयका साथ उद्वार, राहत, स्वास्थ्य उपचार, खाद्यान्न, खानेपानी तथा अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

    बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् आयोजना, सञ्चार तथा अन्य पूर्वाधारको तत्काल क्षति मूल्यांकन गरी पुनःस्थापना तथा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाउनुपर्नेमा पनि सञ्जालले जोड दिएको छ । यस्ता प्रकारका विपद् दोहोरिन नदिन हिमाली तथा नदी तटीय क्षेत्रमा दैविक जोखिम पहिचान, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने, जोखिमयुक्त बस्तीको पहिचान गर्ने तथा दीर्घकालीन विपद् व्यवस्थापनको ठोस योजना निर्माण गर्नेतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने उल्लेख छ ।

    ‘सिद्धार्थ सञ्जाल, रुपन्देहीले विपद्को यस समयमा रसुवा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य, निजी क्षेत्र, सामाजिक संघ–संस्था तथा आम नागरिक सबै एकजुट भएर सहयोग गर्नुपर्छ, विज्ञप्तीमा भनिएको छ ।