शनिवार , श्रावण ३०, २०८३
पश्चिम नवलपरासी, ३० साउन । कम्बोडियामा सम्पन्न छैठौं कुन खमेर विश्व च्याम्पियनसीपमा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काउन सफल खेलाडी सुष्मा चौधरीलाई सम्मान गरिएको छ । चौधरीको गृहनगर पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ५ का आमा समूहहरूले उहाँलाई स्वागत तथा सम्मान गरेका छन् ।
कुन खमेर कम्बोडियाको परम्परागत र अत्यधिक लोकप्रिय मार्सल आट्र्स (युद्धकला÷फाइटिङ खेल) हो । यो खेल थाइल्यान्डको प्रसिद्ध खेल ‘मुया थाइ’ सँग धेरै मिल्दोजुल्दो छ । यद्यपि कम्बोडियामा यसलाई आफ्नो मौलिक साँस्कृतिक पहिचानका रूपमा लिइन्छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्दै देश र आफ्नो भूगोलको पहिचान उच्च बनाएको खुसीयालीमा बर्दघाट–५ मा सक्रिय स्थानीय आमा समूहहरूले संयुक्त रूपमा एक विशेष कार्यक्रम आयोजना गरी उहाँलाई सम्मान गरेका हुन् ।
स्वर्ण पदक जितेर गृहनगर फर्किनुभएकी चौधरीलाई गाउँ प्रवेश गर्दा आमा समूह, खेलप्रेमी, युवा क्लब तथा स्थानीय नगरबासीहरूले बाजागाजा, अबिर र फूलमाला लगाएर स्वागत गरेका थिए।
लामो समयदेखि आईटीएफ तेक्वान्दोमा सक्रिय रहँदै ब्ल्याक बेल्ट (प्रथम डान) हासिल गरिसक्नुभएकी चौधरीले मार्सल आट्र्सको विश्वस्तरीय प्रतियोगितामा यो सफलता हासिल गरेपछि गाउँभरि खुशीयाली छाएको छ । स्वागतपश्चात स्थानीयले विजय ¥यालीसमेत निकालेका थिए ।
आमा समूहका अनुसार ‘सुष्मा हाम्री छोरी मात्र नभएर सिंगो देशकी गहना हुनुहुन्छ । पश्चिम नवलपरासीको माटोमा हुर्किएर अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्नु सामान्य कुरा होइन, यसले हाम्रा स्थानीय बालबालिका र युवाहरूलाई खेलकुदमा लाग्न ठूलो प्रेरणा दिएको छ ।’
कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता चौधरीले आफ्नै घर–आँगन र आमाहरूको हातबाट सम्मानित हुन पाउनु आफ्ना लागि जीवनकै अविस्मरणीय क्षण भएको बताउनुभयो ।उहाँले भन्नुभयो–‘कम्बोडियामा देशको झण्डा फहराउन पाउँदा जति खुशी लागेको थियो, आज गृहनगर फर्किएर आमाहरूको आशीर्वाद र माया पाउँदा त्यो भन्दा बढी हौसला मिलेको छ । यो सफलता मेरो मात्र नभइ मलाई निरन्तर प्रोत्साहन गर्ने सम्पूर्ण पश्चिम नवलपरासी र बर्दघाटबासीको हो ।’
नगरपालिकाले समेत नगद २० हजारसहित सम्मान गरिसकेको सन्दर्भमा बर्दघाटका अन्य विभिन्न संघ–संस्थाहरूले पनि चौधरीको सम्मानमा श्रृंखलाबद्ध कार्यक्रमहरू आयोजना गरिरहेका छन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij