शुक्रवार , श्रावण २९, २०८३
भैरहवा, २९ साउन । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न आग्रह गर्नुभएको छ । उहाँले वस्तु वा सेवा विक्री भएपछि उक्त कारोबार व्यवसायिक खाताबाटै गर्न आग्रह गर्नुभयो ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै पोख्रेलले व्यक्तिगत कारोबार व्यवसायिक खाताबाट पनि नगर्न आग्रह गर्नुभयो । यसो गरे रकमको २ प्रतिशत जरिवाना लाग्ने उहाँले बताउनुभयो । ‘यो आयकर ऐनमा पनि आइसकेको छ, व्यवसायिक आम्दानी व्यवसायिक खातामा लिने हो, व्यक्तिगत खातामा लिने होइन, ’उहाँले भन्नभयो ।
प्रमुख कर अधिकृत पोख्रेललले वस्तु वा सेवा प्रदान गरिसकेपछि अनिवार्य रुपमा बीलबिजक जारी गर्न समेत आग्रह गर्नुभयो । ‘ग्राहकले नलिए पनि बील काट्नुस् । आज नलिए भोलि पनि बील माग्न आउन सक्छन् । बीलबिजक जारी नगरे जरिवाना तिराइने उहाँले बताउनुभयो । उहाँले छुट सुविधाको लाभ लिन करदाताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले करसम्बन्धि प्रयाप्त जानकारी नहुँदा केही व्यवसायी समस्यामा पनि पर्ने गरेकोले कर शिक्षा प्रदान गर्न प्रत्येक वर्ष यो कार्यक्रम गरिदै आएको बताउनुभयो ।
कार्यक्रममा व्यवसायी राजकुमार गुप्ता, हरि पाण्डे, पूर्णवासी गुप्ता, सन्तोष शुक्ला, पवि खनाल, पशुपति कान्दु, यादव प्रसाद आचार्य, राजेश महोत्रा, झबिन्द्र बेल्बासे, सिकन्दर अली लगायतले कर सम्बन्धि विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्श, रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासिनीको स्वागत तथा संस्थाको महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कर अधिकृत सरोज मरासिनीले आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुटहरु लगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij