२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्य : उपसभापति शर्मा

शुक्रवार , श्रावण २९, २०८३

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली काँग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनुभएको छ । 

    शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गर्नुभएको हो ।

    उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

    पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताउनु भयो ।

    गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताउनु भयो । उहाँले अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘व्यक्ति र संस्थाप्रतिको निष्ठा मध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ । व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु ।

    हामीले जेठ १६ गते नै सात बुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएका थियौँ । पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता देखाउन त्यसबेला यसलाई गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको हो ।’

    उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को नेतृत्वमा नेपाली काँग्रेसले सबल राष्ट्रिय शक्तिको भुमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताउनु भयो ।

    राजनीतिक विषयहरू मूलतः राजनीतिक ढंगले नै हल हुने भएपनि कहिलेकाहीँ कानूनी निरूपण आवश्यक हुने र ती सबै प्रक्रियालाई पार्टीको विधान, संविधान र इतिहासको निरन्तरताको जगमा सम्बोधन गरिने उहाँको भनाइ छ ।