बुधवार , श्रावण २०, २०८३
काठमाडौं, २० साउन । दक्षिण कोरिया र जापानको बीचमा अवस्थित डोकडो टापु (जापानमा ताकेशिमा भनिने) माथि जापानले पुनः क्षेत्रीय दाबी गरेकोमा दक्षिण कोरियाले मंगलवार कडा विरोध जनाएको छ ।
दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानुनका आधारमा डोकडो दक्षिण कोरियाको अभिन्न अंग भएको स्पष्ट पारेको छ । मन्त्रालयले जापानी सरकारको अन्यायपूर्ण सार्वभौमसत्ताको दाबीप्रति आपत्ति प्रकट गर्दै जापानले मंगलवार सार्वजनिक गरेको २०२६ को रक्षा श्वेतपत्रमार्फत गरिएको उक्त दाबी तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयका प्रवक्ता पार्क डु–सुनले रक्षा श्वेतपत्रमा गरिएको दाबीप्रति सरकारको तर्फबाट विरोध जनाउँदै भन्नुभयो, ‘दक्षिण कोरियाको आफ्नो भूमिमाथि जापानले गरेको आधारहीन दाबीप्रति सरकार कडा विरोध गर्दछ र यसलाई तत्काल फिर्ता लिन जापान सरकारसँग माग गर्दछ ।’
विज्ञप्तिमा जापान सरकारको कुनैपनि दाबीले डोकडोमाथिको दक्षिण कोरियाली सार्वभौमसत्तामा कुनै प्रभाव नपार्ने उल्लेख गरिएको छ । साथै, डोकडोका सन्दर्भमा हुने जापानको कुनै पनि उक्साहटपूर्ण कदमको दृढतापूर्वक सामना गरिने समेत बताइएको छ ।
दक्षिण कोरियाले यस विषयमा औपचारिक विरोध दर्ता गर्न सोलस्थित जापानी दूतावासका वरिष्ठ अधिकारीलाई बोलाउने तयारी गरेको छ ।
सन् २००५ देखि जापानले आफ्नो वार्षिक रक्षा श्वेतपत्रमार्फत यस टापुमाथि निरन्तर दाबी गर्दै आएको छ। सन् १९१० देखि १९४५ सम्मको जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएपछि दक्षिण कोरियाले सो टापुमाथि आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको थियो ।
हाल उक्त क्षेत्रमा दक्षिण कोरियाको प्रभावकारी नियन्त्रण रहनुका साथै त्यहाँ सानो संख्यामा प्रहरी टोली समेत परिचालन गरिएको छ । दक्षिण कोरियाली जनताले जापानको यस्तो दाबीलाई आफ्नो औपनिवेशिक इतिहासलाई नै इन्कार गरेको रूपमा लिने गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij