२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

बिर्सिनसक्नुको यात्रा

मंगलवार , श्रावण १९, २०८३

  • 112
    Shares
  • 112
    Shares
  • माथिल्लो जोरधारामा मूर्तिकारहरु भुवन थापा र हरि वयम्बू दुईजनाले पाल्पा, तिनाउ, मस्यामको जन्तिलुङ्ग जान हामीलाई कुरिरहेका थिए । भुवन थापा, पाकापुराना मूर्तिकार हुन् । उनले काठमाडौं विश्वविद्यालयमा मूर्तिकला विषयमा प्राध्यापन गर्दै आइरहेका छन् । त्यसै गरी हरि वयम्बूले रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा मूर्तिकला सम्बन्धि अध्यापन गराउँदै आएका छन् । गत वर्षदेखि उक्त विद्यालयले कक्षा ११ मा ललितकला विषयसम्बन्धि अध्यापन गराउँदै आएको छ।

    भविष्यमा गरिखाने विषयका रुपमा लिइएको उक्त ललितकला विषयको प्रचारप्रसार सोचेजति भने हुन सकेको छैन । सो विषयका सन्दर्भमा अभिमुखीकरण कक्षाहरु सञ्चालन धेरै भएका छैनन् । अभिभावकहरुलाई जानकारीको अभाव देखिन्छ । हुनुपर्ने जति प्रचारप्रसार हुन सकेको छैन । जुन सोचका साथ विद्यालय प्रशासन र व्यवस्थापन समितिले ललितकला विषयलाई प्राथमिकता दिएर आफ्नो विद्यालयमा प्रवेश दियो, सोही अनुसारको विद्यार्थी भर्ना हुन नसक्दा आगामी सत्रहरुमा यो विषयले निरन्तरता पाउला वा नपाउला प्रश्नचिन्ह खडा भइरहेको छ । लुम्बिनी प्रदेशमै पहिलोपटक कालिका मानवज्ञान माविले ललितकला विषयमा अध्यापन गराउनु चानेचुने कुरा होइन ।

    प्रसंग यात्राको हो । तर, म यता पो भूलेछु । अँ, साँच्चै, कलाकार बेनु थापा, फोटोग्राफर सुगम पाण्डेय, फिल्म निर्देशक मनीष पन्थ र म भएर उनीहरुलाई भेट्न मध्यान्हको १२ बजे माथिल्लो जोरधारा पुगेका थियौं । साउन १५ गते खीर खाने दिनमा दुईवटा भट्भटे र एउटा स्कूटीमा हामी ६ जना उकालिएका थियौं, जन्तिलुङ्गतिर । समुद्री सतहदेखि १ हजार ७ सय ११ मीटर उचाइँमा जन्तिलुङ्ग गाउँ रहेको छ । 
    नूनले स्वागत !

    माथिल्लो जोरधाराबाट उत्तरपश्चिम उक्लिएपछि तेर्सो र नाके उकालो ग्राभेल तथा कच्चीबाटोलाई हामीले पच्छ्याइ रह्यौं । वर्षे भेलले बाटोलाई क्षति पुर्याएका थिए । कतैकतै त बाटाका धर्सा मात्र थिए । दछ्याइएका गिट्टीहरु बगाएर माटा मात्र बाटामा भेटिन्थे । घरि मोटरसाईकल र घरि स्कूटीले नतानेर पछाडि बस्ने यात्रुहरुले फोक्सो फुल्लाएर उकालो चढेको दृश्यले उनीहरुलाई कठै भन्नुको विकल्प थिएन । करिब आधा घण्टाको यात्रापछि काशीखर्कमा पुगियो । कृष्णबहादुर रानाको कुटे पसलमा बिसाइयो साधन । घारीमा झुण्डिएका पाकेका केरालाई पोरोक पारेर हरिले टेबलमा तेर्साए अनि ग्वाम कि ग्वाम खाइयो । दर्जनको १ सय ५० भनेथे साहुजीले । अनि चट्पटे पनि खाइयो तर, नून बेस्सरी ठोकेछन् । सायद सस्तो नूनले हामीलाई स्वागत गरेका हुन् कि ! भूइँमूनी माटोको गाग्रो गाडेका रहेछन् । घैंटे फ्रिज रहेछ त्यो । त्यहीबाट मिनरल वाटर निकालेर गोटाको ३० नगद बुझे उनले । कुटे पसलको छेउछाउमा घरेलु वस्तुहरु कलात्मक रुपमा झुण्ड्याइएको रहेछ । हेर्दै मनमोहक देखिन्थे ।

    एकादेशको कथा 

    त्यस गाउँबाट अगाडि बढेपछि मरामकोट गाउँ पुगियो । त्यही गाउँमा भेटिए पाकापुराना पूर्णबहादुुर खाम्चामगर । उमेर ७८ पुगेका उनी २०४९ देखि २०५९ सम्म तत्कालीन मस्याम गाविसका अध्यक्ष भएका थिए । सामान्य लेखपढ गरेका उनले राजनीतिमा फड्को मारेको कुरा सुन्दा पनि रहर लाग्दो थियो । ग्रामीण क्षेत्रमा रहेर सामाजिक तथा राजनीतिक सेवा गरेका उनले आफू गाविस अध्यक्ष हुँदा सक्दो विकास निर्माणमा योगदान पुर्याएको कुरा सुनाए । आफ्नो अधिकारलाई प्रयोग गरेको बताए । व्यवस्था परिवर्तन भइरहे पनि न आफ्नो न समाजको अवस्था सोचजस्तो परिवर्तन हुन सकेको उनले बताए । गाउँको मुहार फेर्न त्यति सजिलो नभएको उनको तर्क थियो । पाका मान्छेका पक्का र भर लाग्दा कुरा सुन्दा हामी दंग पर्याैं । 

    उनीसँग बटौलीबाट बोकेर ल्याइने नूनको भाउ सोध्यौं । त्यतिबेलाको बटौली, दोभान, रानीबास, मस्याम हटियाका कुरा बुझ्यौं । लाहुरेहरुले रेडियो, टेपरेकर्डर बजाउँदै हिडेको कुराको बयान चाख लाग्दो थियो । लाहुरेको भरिया हुन् टाठोबाठो हुनुपर्नेमा उनले जोड दिए । २०१९ सालतिर बटौलीबाट नून, कपडा, तमाखू र चामलको भारी (अर्थात् २४ धार्नीको पूरा भारी बोक्दा) २४ रुप्पे प्राप्त हुने कुरा उनले मज्जाले सुनाए । जहान केटाकेटी पाल्नलाई उक्त पैसा सहयोगी हुने कुरा सुन्दा पनि एकादेशको कथा सुनेंझैं भो । नूनको भाउ पाथीको १२ पैसा र चामलको भाउ पाथीको ३ रुप्पे थियो रे ! यो कुरा सुन्दा उहिलेका कुरा खुईलेजस्तै पो लाग्यो ।

    शरणार्थी जीवन 

    पूर्णबहादुर बाजेकी कान्छी बुहारीले अचारसँगै बारा (बटुक) चखाइन् । कालो चियामा तुलसी मिसाएर मीठ्ठो चिया पिलाइन् । हामीले मीठो मानीमानी च्याम्म खाइयो । मनीषको भागमा कुन्नि के परेछ झण्डै वान्ता गरेनन् । पानीले कुल्ला गरे पनि बटुक उनले खाएनन् । कहिलेकाँही त्यस्तै हुने रहेछ । यात्रामा निस्किएपछि अनौठा अनुभवहरु साथी भइदिन्छन् । हामीले द रियल स्टोरीमा पूर्णबहादुरलाई समावेश गर्यौं । उनका दुःख–सुखका कथालाई उनकै मुखबाट भन्न लगायौं । ४ वर्षका उमेरमा बाबा गुमाएका उनलाई आमाले छाडेर गएपछि फुपू–पुसाइँकहाँ शरणार्थी बन्नुपरेको कथाले चसक्क मन छुन्छ । आफूभन्दा जेठी श्रीमतीबाट ११ सन्तानका पिता बनेका पूर्णबहादुरका ७ जना सन्तान जीवितै छन् । १९ जना नातिनतिनाका बाजे पूर्णबहादुर यतिबेला जिजूबाजे समेत भइसकेका छन् ।

    फुपू–पुसाइँका सन्तान नभएकाले उनले छोरोकोजस्तै भूमिका निर्वाह गरेका रहेछन् । बाह्रखरी पढेर अघि बढेका उनले चिठ्ठी समेत लेख्दा रहेछन् । जीवनमा धेरै कुरा गुमाएर पनि थोरै प्राप्ति गर्ने मान्छेमध्येका उनी रहेछन् । संघर्षको प्रतिबिम्बजस्तै लाग्यो उनी । सफलताको यात्रामा देख्दा खुसी लाग्छ अचेल । श्रीमती गुमाएका पूर्णबहादुरले आराम गर्दै जीवन बिताउने कुरा सुनाउँदै थिए ।

    हामीले द रिएल स्टोरी खिचिरहँदा मूर्तिकार तथा कलाकारहरुले मरामकोटमा पाइने ढुंगाहरु खोजिरहे । मनपरेका ढुंगालाई नुहाइदिए अनि सफा गरेर झोलामा हाले । कलात्मक ढुंगा हेरेर आफै खुसी भइरहेका थिए उनीहरु । यता मनीष, सुगम र म भने पूर्णबहादुर बाजेसँग मस्त भयौं । उनका कुराले हामीलाई विपत्तै भुलायो । मरामकोटको दुईघरमा होमस्टे सञ्चालन भइरहेका छन् । पाहुनाहरु स्थानीय झाम्रे नाँच र रैथाने खाना खान आइपुग्ने कुरा पूर्णबहादुर बाजेले सुनाउँदै थिए । मरामकोटबाट देखिने दृश्यले मनै लोभ्याउँदो रहेछ ।

    जल–थेरापीतिर लाग्दा........ । 

    भुवन थापा र बेनु थापालाई जन्तिलुङ्गतिर पठाएपछि हामीले ड्रोनले गाउँ खिच्यौं । क्यामेरा र ड्रोन पोका पारेर हामी पनि उनीहरुका पछि लाग्यौं । हामीहरु जन्तिलुङ्ग पुग्दा उनीहरु जन्तिजस्तै लस्कर लागेका ढुंगा हेर्न र खोज्न उतै पुगेछन् । किंवदन्ती अनुसार उक्त गाउँबाट बाजा बजाउँदै दुलही लिन गएका जन्तिहरु बाटैमा अलप भएर ढुंगाका आकारमा परिणत भएका रहेछन् । त्यसैले जन्तिलुङ्ग सामुदायिक होमस्टेमा आउने पाहुनाहरुलाई बाजा बजाएर स्वागत गर्ने चलन छैन । यो कुरा उक्त होमस्टेका अध्यक्ष शेरबहादुर लम्तरीमगरले बताए । होमस्टे नजिकै रहेको पार्कमा घुम्दैफिर्दै कार्यक्रम सञ्चालन गरें मैले । बादलले घरि घुम्टो ओढाउँथ्यो घरि फुकाल्थ्यो । हामी पुग्दा टन्टालापुरे घाम थियो त्यहाँ तर, पछि बादलसँगै हामी पुरियौं ।

    शेरबहादुरकहाँ पुगेर पानी पिउँदै होमस्टेका बारेमा कुरा गरियो । काँक्रो खानेबेलामा जन्तिलुङ्ग खोज्न गएका भुवन सर र बेनु टुप्लुक्कै आइपुगे । कयाम्कुरुम्मै पारे काँक्रा उनीहरुले । हामीले पनि खायौं ।

    बुटवलतिर फर्कने भनेर शेरबहादुर र उनकी श्रीमती मिनासरासँग बिदा मागेर हिंडेको क्षणभरमै बेनुको भट्भटेको हेडलाइटले धोका दियो । ओरालो, कच्ची बाटो बिनालाइट झर्ने हिम्मत गरिएन । सबैजना शेरबहादुर र मीनाजीको घरमा गास र बासका लागि पुनः पुगियो । मीनाजीले चामल बसाल्न थाल्नुभयो । शेरबहादुर जीले तरकारी पकाउन सघाउनुभयो । जाडोले कान सेक्यो । केही साथीहरु घाँटी न्यानो पार्न र जीउ तताउन जल–थेरापीतिर लागे । खाना खाँदा रातको ९ बजिसकेको थियो ।

    बिहानै मीना मेडमले मनतातो पानीसँगै मह टकार्नुभयो । घोलेर सिनित्तै पारियो र भट्भटे तताइयो । हिंड्ने बेला लाको, खाको र सुतेको गणित बुझाइयो । काँक्रा बोकियो । कुदियो मस्याम हटियातिर । पुरानो मस्याम हटिया हुँदै सिस्ने खोलामा बंगुर व्यवसायी टेमबहादुर बगालेकहाँ कागती चिया स्वादले पिइयो ।

    मरेक झरेपछि स्थानीय रानीवन सामुदायिक वन उपभोक्ता समूहका सचिव धु्रव चिदीमगरसँग नूनतेल खेप्दाको बीचबाटो उक्त गाउँका बारेमा कुराकानी गरियो । लग्धुवा गाउँमा पूर्णिसरा दिदीकहाँ ढिक्का परेको दही र स्थानीय भूइँकटहर खाएर लक्ष्मण पाण्डेयको ड्रागनखेतीका बारेमा कुराकानी गरियो । स्थानीय सरस्वती प्राथमिक विद्यालयका हेडमास्टर समेत रहेका उनले वर्षमा ७ लाख जति उक्त खेतीबाट आम्दानी गरेको सुनाए । गाउँमा वैकल्पिक आम्दानी वा बाटोका रुपमा ड्रागनखेतीलाई लिन सकिने उनको कुरो थियो ।

    झुम्सा, अर्घाछाप झरियो । राजेन्दर कुशबाडियासँग भेटघाट भो । सिलौटा बनाएर जीवन गुजारेका उनको परिवारलाई राज्यले लोपोन्मुख जातिका कारण मासिक भत्ता दिने व्यवस्था गरेको छ । उनीसँग बिदा भएर बुटवल झर्दा बिहानको ११ बज्दैथियो । साथीहरु भने हामीलाई छाडेर पहिले नै बुटवल झरेको कुरा हाते दूरभाषमार्फत् जानकारी गराएका थिए । दुई दिने गाउँले यात्राले मनै आनन्दित तुल्यायो । गजब भ्रमण थियो । बिर्सिनसक्नुको यात्राले हामीलाई पुनःजन्तिलुङ्ग पुर्याउनेछ ।