२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

बुटवल कोरा २०२६ : ५ देखि ६० वर्षसम्मका राईडर सहभागी

शनिवार , श्रावण २, २०८३

  • 151
    Shares
  • 151
    Shares
  • बुटवल, २ साउन । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल र्‍यालीमा ५ वर्षका दुई बालकदेखि ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए । 

    मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे सुरु भएको र्‍याली देवीनगर, बुद्धनगर हुँदै नयाँगाउँ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पीठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गर्नुभएको थियो । धाममा श्रावण महिनाभरी चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए । 

    श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्रा चलाउनुभयो । धामका पीठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट उहाँहरुले आर्शीवाद ग्रहण गर्नुभयो । र्‍याली मैनाबगर, गणेश मन्दिर, गोलपार्क, सैनिक आवासीय महाविद्यालय बुटवल हुँदै राजमार्ग चौराहामा आएर समापन भएको थियो । 

    कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले छोटो तर, धेरै उत्तम साईकल यात्रा भएको बताए । बुटवलमा रहेको धार्मिक क्षेत्र र नयाँ रुटसहित यात्रा गर्दा धेरै रमाइलो भएको सुनाए । 

    विश्वभर नै कोरा हुने क्रममा बुटवलमा पनि प्रत्येक वर्ष विभिन्न क्लबहरुको संयोजनमा हुँदै आएको संयोजक दीपक कार्कीले बताउनुभयो। नयाँ र युवाहरुलाई सहभागी हुने गरी कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले बताए । 

    क्लबको नियमित वार्षिक कार्य अनुसार नै यस वर्ष पनि कोरा गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताउनुभयो । कोराको मूल मर्म अनुसार धार्मिक पर्यटकीय स्थलहरुको परिक्रमासँगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।